शीर्षकहरू

आईपीओ निष्काशन प्रस्तावसहित सिम्रिक एयरको साधारण सभा फागुन २८ गते

आईपीओ निष्काशन प्रस्तावसहित सिम्रिक एयरको साधारण सभा फागुन २८ गते

काठमाडौं । सिम्रिक एयर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

सभा काठमाडौं महानगरपालिका–३२ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। साथै, सोही आवको लेखापरीक्षित वार्षिक आर्थिक विवरण (नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण) तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने कार्यसूची रहेको छ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने तथा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि तय गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। सेयरधनीलाई नगद लाभांश वितरणसम्बन्धी प्रस्तावसमेत छलफलका लागि समावेश गरिएको छ।