शीर्षकहरू

राजाको सन्देशको स्वागत गर्दै राप्रपाको आग्रह : राष्ट्रिय सहमतिपछि मात्रै निर्वाचनमा जानुपर्छ

राजाको सन्देशको स्वागत गर्दै राप्रपाको आग्रह : राष्ट्रिय सहमतिपछि मात्रै निर्वाचनमा जानुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले दिएको सन्देशको स्वागत गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय सहमतिपछि मात्रै निर्वाचन प्रक्रियामा जानुपर्ने माग गरेको छ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थसँग मेल खाने ठहर गरेको छ।

चुनावी अभियानका क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यकाबाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपलब्ध केन्द्रीय पदाधिकारी सहभागी थिए।

बैठकले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले देशवासीका नाममा दिएको सन्देशको स्वागत र समर्थन गरेको छ। राप्रपाले ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने’ भन्ने राजाको अभिव्यक्ति मुलुकको यथार्थसँग मेल खाने बताएको छ।

राप्रपाले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गरी नवीन समझदारी कायम गर्नुपर्ने धारणा पुनः दोहोर्‍याएको छ। यसका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको र विभिन्न राजनीतिक दलहरूसँग वार्ता तथा विचारविमर्श गरिरहेको पनि जनाएको छ।

पार्टीले निर्वाचनपूर्व नै राष्ट्रिय सहमति कायम गर्न सरकार र राजनीतिक दलहरूसँग पुनः आग्रह गरेको छ। साथै, राजाको सन्देश र पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा सक्रिय हुन, नवीन समझदारीका लागि दबाब सिर्जना गर्न र आम जनतालाई जागरुक बनाउन कार्यकर्तालाई आह्वान गरेको छ।

null