काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् ।
कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए । उनले यत्तिकै पाँच हजार रोजगारी नभइ कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने संकल्प लिएको बताए ।
उनले भने, ‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।’
उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गरे । अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सिर्जनाहरू छन् । उहाँहरूले सिर्जना गर्नु भएको छ । तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन । यसबाट स्वतन्त्रता खोज्नु भएको छ । यसका बारेमा हामी प्रस्ट छौँ ।’
उनले युवाहरूमा अर्को महत्वपूर्ण कुरा सीप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने गरी हुनु भएन । उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरूरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ ।’
यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए । विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सिर्जना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौँ ।’
कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् ।
काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनकि पदमा बस्ने अधिकार छैन ।’
उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए।
उनले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए । उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्र नै गर्नुपर्नेमा जोड दिए ।
सभापति थापाले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गरेपछि समय ढिला भए क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताए । उनले भने ,‘सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ। एक घण्टामा सेवा पाइनेछ भन्दा त्यो एकै घण्टामा सेवा पाउनुपर्छ। यसको निम्ति प्रविधिको प्रयोग कसरी गर्ने ? अहिले भइरहेका कुन( कुन कानूनमा संशोधन गर्ने र भौतिक पूर्वाधार कसरी निर्माण गर्ने र घरमै नागरिकलाई सेवा कसरी दिन सक्ने ।’
उनले डिजिटल सार्वजनिक सेवा ७ दिन, २४ सै घण्टा र सेवामा ढिला सुस्ती भए नागरिकलाई क्षतिपूर्ति लगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए।
आर्थिकन्यूज