शीर्षकहरू

कर्णालीबाट रास्वपाको चुनावी वाचा पत्र सार्वजनिक, अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने उद्घोष (पूर्णपाठ)

५ वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता

कर्णालीबाट रास्वपाको चुनावी वाचा पत्र सार्वजनिक, अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने उद्घोष (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित ‘परिवर्तन उद्घोष सभा’मार्फत पार्टीले वाचा पत्र सार्वजनिक गरेको हो।

घण्टाघर चोकमा आयोजित सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले सहभागी थिए। शीर्ष नेताहरूले सम्बोधन गर्दै कर्णालीबाटै परिवर्तनको अभियान अघि बढाउने बताएका छन्।

रास्वपाले धनगढीपछि सुर्खेतमा दोस्रो चुनावी सभा आयोजना गरेको हो। पार्टीले सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई केन्द्रमा राखेर वाचा पत्र सार्वजनिक गरेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलीयकरणको अन्त्य र उच्चस्तरीय भ्रष्टाचार छानबिनलाई मुख्य एजेन्डा बनाएको छ। वाचापत्रमा २०४६ सालयताका उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्च आयोग गठन गर्ने प्रतिबद्धता जनाइएको छ।

रास्वपाले कर्णालीका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्र प्रवर्द्धन र वैदेशिक रोजगारीमा रहेका युवाको मताधिकार सुनिश्चित गर्ने योजना पनि अघि सारेको छ। पार्टीले सुशासन र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य लक्ष्य रहेको जनाएको छ।

अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने रास्वपाको उद्घोष, ७ प्रतिशत वार्षिक वृद्धिको लक्ष्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ पछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ।

पार्टीको चुनावी वाचा पत्र सार्वजनिक गर्दै उपसभापति स्वर्णिम वाग्लेले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा बढी) पुर्‍याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे। उनले स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र सोही अवधिमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य राखिएको बताए।

‘फागुन ३ गते नागरिकसँगको करारपत्रमार्फत लक्ष्य सार्वजनिक गरिसकेका थियौं, आज नीतिगत प्रस्थानका १०० आधार प्रस्तुत गरेका छौं,’ वाग्लेले भने, ‘अब बन्ने सरकारले यिनै आधारमा टेकेर जेठ १५ को बजेट र नीति तथा कार्यक्रम ल्याउनेछ।’

रास्वपाले ‘मिशन मोड’मा अर्थतन्त्र उकास्ने घोषणा गर्दै निम्न आय भएको मुलुकको अवस्थाबाट पाँच वर्षभित्र सम्मानजनक मध्यम आय स्तरमा पुग्ने दाबी गरेको छ।

सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिँदै पार्टीले सरकारी सेवामा ‘लाइन होइन, अनलाइन’ अवधारणा लागू गर्ने, न्याय क्षेत्रमा योग्यतामा आधारित प्रणाली स्थापना गर्ने तथा दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। लगानीमैत्री वातावरण बनाउन बाधक दर्जनौं ऐन–नियम खारेज गर्ने घोषणा पनि वाचा पत्रमा गरिएको छ।

सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिमा पार्टीले कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई अर्थतन्त्रका मुख्य खम्बाका रूपमा अघि सारेको छ।

५ वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता

रास्वपाले आफ्नो चुनावी वाचा पत्रमार्फत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएको छ। वाचा पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाइने उल्लेख छ। सरकारी कर्मचारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने र भ्रष्टाचारका मुद्दामा छिटो कारबाही सुनिश्चित गरिने पार्टीले जनाएको छ।

आर्थिक रूपान्तरणतर्फ रास्वपाले पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन, विदेशी लगानी आकर्षण र डिजिटल अर्थतन्त्र सुदृढीकरणमार्फत रोजगारी बढाइने योजना प्रस्तुत गरिएको छ। कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा विशेष जोड दिँदै युवालाई स्वरोजगारतर्फ उन्मुख गरिने उल्लेख छ।

शिक्षातर्फ पार्टीले मेट्रोफन्ड कम्पनी स्थापना गर्ने, तीन सन्तानसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने तथा विश्वविद्यालयलाई स्वायत्त बनाउने प्रतिबद्धता जनाएको छ। डिजिटल शिक्षा प्रणाली लागू गर्ने र शिक्षक क्षमता विकासमा जोड दिइने पनि वाचा पत्रमा उल्लेख छ।

स्वास्थ्य क्षेत्रमा सार्वभौमिक स्वास्थ्य बीमा लागू गर्ने, सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने र अस्पतालहरूको स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, औषधि मूल्य नियन्त्रण र महामारी पूर्वतयारी सुदृढ गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।

रास्वपाले अस्थिर राजनीतिको अन्त्य र सुशासनका लागि घण्टी चुनाव चिह्नमा मतदान गरी स्पष्ट बहुमत दिन मतदातालाई आह्वान गर्दै पाँच वर्षको स्थिर सरकार आवश्यक रहेको उल्लेख गरेको छ।