काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको बाचापत्रमा नेपालको पूँजीबजारलाई आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउने विस्तृत योजना प्रस्तुत गरेको छ। पार्टीले केवल नियम सुधारमा सीमित नहुने, डिजिटल माध्यममार्फत देशभरका नागरिक र युवालाई सहज पहुँच दिने नीति अघि सारेको छ।
रास्वपाले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीको संरचनागत सुधार गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने प्रतिबद्धता जनाएको छ। यसअन्तर्गत इन्ट्रा-डे ट्रेडिङ, शर्ट सेलिङ, फ्युचर्स, अप्सन तथा अन्य डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरिने योजना रहेको छ।
पार्टीले लगानीकर्ता सुरक्षामा जोड दिँदै ‘इन्साइडर ट्रेडिङ’ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता अपनाउने स्पष्ट नीति ल्याएको छ। आईपीओ प्रणालीमा आमूल सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गरिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
रास्वपाले पुँजीबजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यममार्फत देशव्यापी पहुँच दिन र यसलाई अर्थतन्त्रको वास्तविक ऐना तथा पूँजी निर्माणको मुख्य आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
बाचापत्रअनुसार, रास्वपाले संस्थागत लगानीकर्तालाई सक्रिय बनाउने, पेन्सन फन्ड, बीमा र म्युचुअल फन्डमार्फत दीर्घकालीन परियोजनामा पूँजी जुटाउने तथा ऋण र बन्ड बजार विकास गर्ने योजना अघि सारेको छ। गैर–आवासीय नेपाली नागरिकका लागि नेप्सेमा कारोबार सहज बनाउने नीति र वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि रहेको छ।
साना लगानीकर्ताको हित सुरक्षित गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गरिनेछ भने सूचीकृत कम्पनीहरूको वित्तीय विवरण पारदर्शी राख्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गरिनेछ। रास्वपाको उद्देश्य पूँजीबजारलाई दीर्घकालीन लगानी, उद्यमशीलता र आधुनिक वित्तीय उपकरणमार्फत नेपालको आर्थिक विकासको प्रमुख ‘ड्राइभर’ बनाउनु रहेको छ।
आर्थिकन्यूज