काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड र यसको दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियो इन्फोकम लिमिटेडले आगामी सात वर्षमा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी पूर्वाधारमा १ खर्ब १० अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने घोषणा गरेका छन्।
यो लगानीको उद्देश्य एआई लागत घटाउनु रहेको छ। अम्बानीले बिहीबार नयाँ दिल्लीमा भएको इन्डिया एआई इम्प्याक्ट समिटमा बताए, “भारतले अब भाडामा एआई चलाउन सक्दैन। त्यसैले हामी नाटकीय रूपमा डेटा लागत घटाए जस्तै, एआई लागत पनि घटाउनेछौँ।” उनले सन् २०१६ मा रिलायन्स जियोको सस्तो डेटा र निःशुल्क कल सेवामा भएको प्रवेशतर्फ संकेत गर्दै यो योजनाको महत्व देखाएका हुन्।
ब्लुमबर्गका अनुसार पछिल्लो समय द्रुतगतिमा विकास भइरहेको एआई प्रविधिमा भारतीय धनाढ्य लगानी गर्न अग्रसर भएका छन्। यसअघि गौतम अदानी र टाटा समूहले पनि एआईमा १ खर्ब डलर लगानी गर्ने घोषणा गरिसकेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतलाई एआई र क्लाउड कम्प्युटिङको हब बनाउने प्रतिबद्धता जनाइसकेको छ। सोही क्रममा भारतमा ठूलो एआई सम्मेलन आयोजना गरिएको थियो, जहाँ विश्वका चर्चित प्रविधि कम्पनीहरू सहभागी भएका थिए।
अम्बानीको यो पहलले भारतमा एआई पूर्वाधार, क्लाउड सेवा र डेटा लागत घटाउने रणनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ।
आर्थिकन्यूज