काठमाडौं। इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) ले दीप्ति आचार्यलाई सन् २०२५-२०२६ का लागि एसिया–प्रशान्त क्षेत्रको राजदूतमा नियुक्त गरेको छ।
९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयसँग सहकार्य गर्दै आएको उक्त विश्वव्यापी संस्थाले गुणस्तरीय अन्तर्राष्ट्रिय पाठ्यक्रम प्रवर्द्धनमा आचार्यको योगदानलाई मूल्यांकन गर्दै उनलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
दीप्ति आचार्य संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक हुन्। उनले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्दै संस्थाअन्तर्गत सञ्चालित इन्टरनेसनल अर्ली इयर्स करिकुलम (आईईवाइसी), इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) र इन्टरनेसनल मिडल इयर्स करिकुलम (आईएमवाईसी) मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्ने भूमिका निर्वाह गर्नेछिन्।
आईसीएले जनाएअनुसार, दुई दशकदेखि प्रगतिशील शिक्षाको प्रवर्द्धनमा आचार्यले खेलेको सक्रिय भूमिकाको कदरस्वरूप उनलाई राजदूत नियुक्त गरिएको हो। उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा आईपीसी मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बनेको थियो।
राजदूत नियुक्तिपछि आचार्यले क्षेत्रभरका विद्यालयलाई मार्गदर्शन, तालिम सञ्चालन तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नेछिन्। आईसीएको ‘आईसीए एम्बासडर’ कार्यक्रमले ‘इम्प्रुभिङ लर्निङ’ दर्शनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्तालाई छनोट गर्ने गर्दछ।
आईसीएका निर्देशक सारा ब्ल्याकमोरले आचार्यको नियुक्तिले एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको विद्यालय सञ्जाललाई मार्गदर्शन र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
आचार्य एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुन्। उनले अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनी अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा पनि क्रियाशील रहँदै आएकी छन्। साथै, सामाजिक अभियानमा सक्रिय रहँदै महिला तथा बालबालिकाको अधिकारका पक्षमा वकालत गर्दै आएकी छन्।
आर्थिकन्यूज