शीर्षकहरू

७ महिनाको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, व्यापार घाटा ९ खर्ब ५५ अर्ब

आयात १३.६५% र निर्यात ३२.२९% ले बढ्दा पनि आयातको हिस्सा करिब ८७%

७ महिनाको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, व्यापार घाटा ९ खर्ब ५५ अर्ब

काठमाडौं। चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिना (साउन–माघ) मा नेपालको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब २५ अर्ब रहेको व्यापारको आकार यस वर्ष १५.७६ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। त्यस्तै, निर्यात ३२.२९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात भएको थियो।

यद्यपि, आयातको उच्च हिस्सा कायम रहँदा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको ८ खर्ब ६१ अर्ब ३८ करोडको तुलनामा १०.९१ प्रतिशत बढी हो।

तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९८ प्रतिशत र निर्यातको हिस्सा १३.०२ प्रतिशत छ। नेपालको आयातनिर्यात अनुपात १४.०३ प्रतिशतले ऋणात्मक देखिएको छ। तुलनात्मक रुपमा कुल व्यापारमा आयातको हिस्सा गत वर्षको ७ महिनाको तुलनामा यस वर्ष ७ महिनामा १.८३ प्रतिशतले ऋणात्मक छ।  

यसले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको संकेत गर्छ। पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी, विद्युतीय उपकरण तथा कच्चा पदार्थको उच्च आयातले व्यापार घाटा चर्काइरहेको छ।

पछिल्ला वर्षहरूमा निर्यात प्रवर्द्धनका विभिन्न नीति तथा सहुलियत कार्यक्रम लागू भए पनि व्यापार घाटाको संरचनामा उल्लेखनीय सुधार हुन सकेको छैन।

पेट्रोलियम पदार्थको आयात कुल वस्तु निर्यातभन्दा माथि

चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो सात महिनामा नेपालले गरेको पेट्रोलियम पदार्थको आयात कुल वस्तु निर्यातभन्दा माथि पुगेको छ। साउनदेखि माघसम्म नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ, जबकि सोही अवधिमा कुल वस्तु निर्यात १ खर्ब ६८ अर्ब मात्रै रहेको छ।

भन्सार विभागका तथ्यांक अनुसार, तेलघिउ आयात दोस्रो ठूलो वस्तु हो। सात महिनामा यसको आयात ९३ अर्ब ७५ करोड पुगेको छ। त्यसैगरी, आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड, विद्युतीय उपकरण र पार्ट्स ७७ अर्ब ६९ करोड, मेसिनरी र मेकानिकल उपकरण ७७ अर्ब ५३ करोड २५ लाख, र सवारीसाधन आयात ६४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

गरगहना र बहुमूल्य धातु आयातमा ४७ अर्ब ७९ करोड, मल आयातमा ४२ अर्ब ६३ करोड, तरकारी आयातमा २२ अर्ब २५ करोड रुपैयाँ खर्च भएको तथ्यांक देखाएको छ।

निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेल र जनावरको बोसोसहितका वस्तुमा रहेको छ। सोयाबिन तेल निर्यातमा पहिलो स्थानमा छ, सात महिनामा ६६ अर्ब ७८ करोड बराबर निर्यात भएको छ। दोस्रो नम्बरमा अलैचीँ (८ अर्ब ६१ करोड) र तेस्रोमा सनफ्लावर तेल (५ अर्ब ७८ करोड) रहेको छ।

नेपालको प्रमुख व्यापारिक साझेदार भारत हो। भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात १ खर्ब ३७ अर्ब पुगेको छ। चीनबाट २ खर्ब ३५ अर्बको वस्तु आयात भएको छ, तर निर्यात मात्र ९० करोड रुपैयाँ भएको छ।

सात महिनामा सबैभन्दा बढी आयात भएको वस्तुमा पहिलो नम्बर कच्चा सोयाबिन तेल (७० अर्ब ९९ करोड), दोस्रो डिजेल (६९ अर्ब ९१ करोड), तेस्रो पेट्रोल (३८ अर्ब १३ करोड), चौथो खाना पकाउने ग्यास (३१ अर्ब ८५ करोड) रहेको छ।

हाल आयात–निर्यात अनुपात ६.६८ पुगेको छ। अर्थात्, नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६८ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो अनुपात ७.७७ थियो। तथापि निर्यात वृद्धिले व्यापार घाटा कम गर्ने सम्भावना देखाएको छ।

null