शीर्षकहरू

रामटोल–७ मा अनिल कुमार रुंगटाको मतदाता भेटघाट : विकास, सुशासन र सहभागितामुखी योजनामा जोड

रामटोल–७ मा अनिल कुमार रुंगटाको मतदाता भेटघाट : विकास, सुशासन र सहभागितामुखी योजनामा जोड

वीरगञ्ज । पर्सा–१ का प्रतिनिधि सभा उम्मेदवार अनिल कुमार रुंगटा ले रामटोल–७ मा आयोजना गरिएको मतदाता भेटघाट कार्यक्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै विकास र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अघि बढाउने स्पष्ट कार्यदिशा प्रस्तुत गरे। “जनताको सहभागिता बिना दिगो विकास सम्भव छैन,” उनले भने, “हामी स्थानीय आवश्यकता पहिचान गरेर योजनाहरू कार्यान्वयन गर्नेछौँ।”

रुंगटाले क्षेत्रको सडक, खानेपानी, ढल निकास, विद्यालयको स्तरोन्नति र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई विशेष ध्यान दिने बताए। युवाहरूका लागि सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने योजना पनि उनले सार्वजनिक गरे।

उनले नेपाली कांग्रेस नेतृत्वमा सुरु भएको सकारात्मक परिवर्तनको यात्रालाई निरन्तरता दिने दाबी गर्दै विकास र पारदर्शितामा सम्झौता नगर्ने प्रतिवद्धता दोहोर्‍याए।

स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राख्दै विकास योजनामा प्रभावकारी कार्यान्वयनको अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।