रामेछाप । रामेछापमा बोलेरो गाडीको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा रामेछाप नगरपालिका–६ च्यास्कुकी ती बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता राजनप्रसाद तिमिल्सिनाका अनुसार बालिका पसलमा सामान किनिरहेको अवस्थामा बोलेरो सटरभित्रै छिरेको थियो ।
स्थानीयका अनुसार बोलेरो चालक नभएको मौका छोपी अटो चालक स्थानीय तिर्थबहादुर तामाङले गाडी चलाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । प्रहरीले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
आर्थिकन्यूज