भैरहवा । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले आफ्नो घरदैलो अभियानलाई झनै तीव्र बनाएका छन्। “स्वदेशमै रोजगारी, स्वदेशमै समृद्धि” भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएका पौडेलले युवालाई देशभित्रै अवसर सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको दोहोर्याएका छन्।

शनिबार बुटवलको नयाँ गाउँ क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उनले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीय बासिन्दासँग हातेमालो गर्दै उनले विगतका समस्या, वर्तमान चुनौती र भावी योजनाबारे खुला छलफल गरे। विशेषगरी रोजगारीको अभावका कारण युवाहरू विदेश पलायन हुनुपरेको अवस्थालाई अन्त्य गर्न ठोस नीति आवश्यक रहेको उनको भनाइ थियो।
पौडेलले उत्पादनमूलक क्षेत्रको विकास, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग स्थापना र सीपमूलक तालिम केन्द्र विस्तारमार्फत दीर्घकालीन रोजगारी सिर्जना गर्ने योजना सुनाए। “रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु आजको आवश्यकता हो,” उनले मतदातामाझ स्पष्ट पारे।

घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक उपस्थिति देखिएको थियो। धेरै मतदाताले पुराना अनुहारभन्दा नयाँ सोच र स्पष्ट एजेन्डा बोकेका उम्मेदवारप्रति आकर्षण बढेको प्रतिक्रिया दिएका छन्। विकास, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धतासहित अघि बढेका उम्मेदवारलाई यसपटक समर्थन गर्ने मनस्थिति रहेको उनीहरूको भनाइ छ।
पौडेलले आगामी दिनमा क्षेत्रका अन्य टोल–वडामा पनि अभियानलाई निरन्तरता दिने बताएका छन्। चुनाव नजिकिँदै जाँदा घरदैलो अभियानले क्षेत्र नम्बर २ मा चुनावी माहोल झनै तातिएको छ।
पुनहरि बेल्बासे