शीर्षकहरू

स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा छु : चुन्न प्रसाद पौडेल

स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा छु : चुन्न प्रसाद पौडेल

चुनावी माहोल तातिरहेको बेला नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्न प्रसाद पौडेलले स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल जनतामा राजनीतिक नेतृत्वप्रति अपेक्षा र विश्वास बढ्दो छ। नयाँ सोच, नयाँ शैली र विकासमुखी नेतृत्वको खोजी भइरहेका बेला उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर मतदातामाझ पुगेका छन्।

पौडेलले रोजगारी सिर्जना, विकास र जनजीवन सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। यसै सन्दर्भमा पत्रकार पुनहरि बेल्बासेले पौडेलसँग विस्तृत कुराकानी गरेका छन्, जहाँ उनले आफ्नो चुनावी दृष्टिकोण र योजनाबारे खुलस्त गरेका छन्।

पौडेलको भनाइ अनुसार, युवाहरूलाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन र स्वदेशमै अवसर सिर्जना गर्न आफू चुनावी मैदानमा उत्रिएको जनाएका छन।
 अहिले तपाईँ चुनावी मैदानमा खटिनु भएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अहिले म चुनावी मैदानमा सक्रिय रूपमा खटिरहेको छु । घरदैलो अभियान, टोलभेला, अन्तरक्रिया र भेटघाटका क्रममा अत्यन्तै सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाएको छु । म नयाँ अनुहार भए पनि व्यवसायिक क्षेत्रबाट आएको पृष्ठभूमिका कारण मतदाताहरूले विश्वासका साथ स्वागत गरिरहनुभएको छ ।

घरदैलोमा जाँदा नागरिकहरूमा परिवर्तनको चाहना स्पष्ट रूपमा देखिन्छ । जनताले अब केवल भाषण होइन, काम गर्ने नेतृत्व चाहेका छन् भन्ने मैले महसुस गरेको छु । विशेषगरी युवापुस्ता, महिला दिदीबहिनीहरू र ज्येष्ठ नागरिकहरूबाट निकै उत्साहजनक साथ पाइरहेको छु ।

मतदाताहरूले विकासको स्पष्ट खाका, रोजगारीको सुनिश्चितता, सामाजिक न्याय र पारदर्शी नेतृत्वको अपेक्षा व्यक्त गरिरहनुभएको छ । कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा धेरै चासो व्यक्त भएको छ । स्थानीय स्रोत–साधनको सदुपयोग, विकासका काम छिटो सम्पन्न हुने वातावरण र युवाहरू विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने सुझावहरू पाएको छु ।

यी सुझावहरू नै मेरो ऊर्जा र मार्गदर्शन बनेका छन् । म जनताको अपेक्षा बुझेर त्यसअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँ एक सफल व्यवसायी हुनुहुन्छ । व्यवसाय गर्दा र राजनीति क्षेत्रमा के फरक पाउनुभएको छ ?
व्यवसाय र राजनीतिमा स्वाभाविक रूपमा केही फरक पक्षहरू छन् । व्यवसाय गर्दा व्यवस्थापन क्षमता, आर्थिक योजना, उत्पादन, बजार रणनीति र समयमै निर्णय गर्ने क्षमतामा ध्यान दिनुपर्छ । त्यसको परिणाम प्रायः छोटो अवधिमै देख्न सकिन्छ ।

तर राजनीतिमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनताको विश्वास हो । यहाँ निर्णय गर्दा व्यक्तिगत हित होइन, सामूहिक हितलाई केन्द्रमा राख्नुपर्छ । धैर्य, समन्वय र उत्तरदायित्व राजनीतिक जीवनका महत्वपूर्ण पक्ष हुन् ।

म व्यवसायमा रहँदा पनि सामाजिक कार्यमा सक्रिय थिएँ । रोजगारी सिर्जना, सामाजिक सहयोग र समुदाय विकासका क्षेत्रमा मेरो निरन्तर संलग्नता रह्यो । त्यसैले राजनीतिमा प्रवेश गर्दा मलाई असहज महसुस भएन ।

म राजनीतिलाई पेशा होइन, सेवा गर्ने माध्यमका रूपमा लिएको छु । व्यवसायबाट सिकेको अनुशासन, पारदर्शिता, योजना निर्माण र समय व्यवस्थापनको अनुभवलाई राजनीतिक जीवनमा पनि प्रयोग गर्नेछु । निर्णय गर्दा जनताको हित, पारदर्शिता र जवाफदेहिता मेरो प्राथमिकतामा रहनेछ ।

व्यावसायिक सपोर्टले गर्दा चुनाव जित्छु जस्तो लाग्छ तपाईँलाई ?
मलाई लाग्छ चुनाव जित्नु केवल आर्थिक वा व्यावसायिक सपोर्टले मात्र सम्भव हुँदैन । चुनाव जित्ने मुख्य आधार भनेको जनताको विश्वास र समर्थन हो ।

अहिले चुनावी अभियानका क्रममा आम नागरिकहरूको उत्साह देख्दा म निकै प्रेरित भएको छु । कतिपय मतदाताहरूले मतदानको दिनको प्रतीक्षा गरिरहेको बताउनुहुन्छ । यो उत्साह नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।

म आत्मविश्वासी छु, तर घमण्ड छैन । म जनताको साथ, सुझाव र आलोचनालाई सम्मान गर्छु । अन्ततः निर्णय गर्ने अधिकार जनताकै हातमा हुन्छ । त्यसैले म जनताको अपेक्षाअनुसार काम गर्ने र विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

मतदाताले तपाईँलाई किन भोट हाल्ने ?
मतदाताले मलाई भोट दिनुपर्ने मुख्य कारण भनेको म यही समाजमा लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको व्यक्ति हुँ । यहाँका समस्याहरूलाई मैले नजिकबाट देखेको, भोगेको र बुझेको छु ।

सुकुम्बासी समस्या, भूमिहीनता, बेरोजगारी, स्वास्थ्य सेवा अभाव र शिक्षा पहुँचका चुनौतीहरू हाम्रो समाजका वास्तविक समस्या हुन् । म यी विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न चाहन्छु ।

म राजनीतिमा केवल आश्वासन दिन आएको होइन, काम गरेर देखाउने लक्ष्यका साथ आएको हुँ । जनताले अब परिणाममुखी नेतृत्व खोजिरहेका छन् । त्यसैले म काममा आधारित राजनीति गर्नेछु ।यदि जनताले मलाई विश्वास गरेर जिम्मेवारी दिनुभयो भने इमानदारी, पारदर्शिता र प्रतिबद्धताका साथ जनताको जीवनस्तर सुधारका लागि काम गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।

मुख्य एजेन्डाहरू के कस्ता रहेका छन् ?
मेरो पहिलो प्राथमिकता रोजगारी सिर्जना हो । अहिले युवाहरू अवसरको खोजीमा विदेश पलायन हुन बाध्य छन् । यसले गाउँघर खाली हुँदै गइरहेका छन् र सामाजिक संरचनामा असर परेको छ । स्थानीय स्तरमै उद्योग स्थापना, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । युवाहरूलाई सीपमूलक तालिम, सहुलियत ऋण र बजार पहुँचको व्यवस्था गर्न पहल गर्नेछु ।
लालपुर्जा वितरणको समस्या समाधान पनि मेरो महत्वपूर्ण एजेन्डा हो । लामो समयदेखि रोकिएको यो प्रक्रिया टुंग्याउन विशेष पहल गर्नेछु, ताकि सुकुम्बासी र भूमिहीन परिवारहरू अधिकारबाट वञ्चित नहुन् ।
स्वास्थ्य क्षेत्रमा सुधार अर्को प्राथमिकता हो । गरिब तथा विपन्न नागरिकहरू उपचारको अभावमा पीडित हुनु नपरोस् भन्ने मेरो उद्देश्य हो । स्वास्थ्य सेवा विस्तार, निःशुल्क औषधि वितरण र नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ ।
शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छु । विपन्न परिवारका बालबालिकालाई निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउन पहल गर्नेछु । कुनै पनि बालबालिका आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुनुहुँदैन भन्ने मेरो स्पष्ट मान्यता छ ।
अन्त्यमा, म राजनीतिमा व्यक्तिगत स्वार्थका लागि आएको होइन । समाज परिवर्तन, विकास र जनताको जीवनस्तर सुधार मेरो मुख्य लक्ष्य हो । यदि जनताले विश्वास गर्नुभयो भने म इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नेछु । निर्णय गर्ने अधिकार जनताकै हातमा छ, र म सधैं जनताको साथ र विश्वासप्रति आभारी रहनेछु ।