शीर्षकहरू

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?

काठमाडौं । स्वस्थ जीवनशैली अपनाउन सन्तुलित खानपान, नियमित व्यायाम र पर्याप्त विश्राम आवश्यक मानिन्छ। तीमध्ये बिहानको खाजा दिनभरको स्वास्थ्य, ऊर्जा र मानसिक सक्रियताको आधार हुने चिकित्सकहरू बताउँछन्। रातभर शरीर उपवासजस्तै अवस्थामा रहने भएकाले बिहानको खाजाबाटै शरीरले आवश्यक पोषण र शक्ति प्राप्त गर्ने हुँदा यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको छ।

पोषणविद्हरूका अनुसार बिहानको खाजा छोड्ने बानीले कमजोरी, चक्कर, ध्यान केन्द्रित गर्न कठिनाइ, अत्यधिक भोक लाग्ने र पछि धेरै खाना खाने प्रवृत्ति बढाउँछ। यसले तौल वृद्धि, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोगको जोखिम बढाउन सक्छ। विश्व स्वास्थ्य संगठन ले पनि बिहान सन्तुलित भोजन लिन सके शरीरको ऊर्जा स्तर स्थिर रहने र दीर्घकालीन रोगबाट जोगिन सहयोग पुग्ने जनाएको छ।
बिहानको खाजामा के समावेश गर्ने ?
स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजा विविध पोषक तत्व भएको हुनुपर्छ। 

प्रोटिनयुक्त खाना  :
अण्डा, दूध, दही, पनीर, गेडागुडी वा सोयाबिनजस्ता पदार्थले मांसपेशी मजबुत बनाउनुका साथै लामो समयसम्म पेट भरिएको अनुभूति गराउँछ।

फाइबरयुक्त भोजन:
ओट्स, दलिया, गहुँको रोटी, ढिँडो, कोदो, मकै वा फापरका परिकारले पाचन प्रणाली सुधार्नुका साथै रक्तचाप र रक्तशर्करा नियन्त्रणमा सहयोग पु¥याउँछ।

फलफूल र तरकारी :
केरा, स्याउ, पपीता, सुन्तला, अनार, टमाटर वा सागसब्जीले भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पूर्ति गर्छन्। बिहान फलफूल खाने बानीले रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरू बताउँछन्।
स्वस्थ बोसो :
बदाम, काजु, अखरोट, तिल वा अलैंची जस्ता खानेकुराले मुटुको स्वास्थ्य राम्रो राख्न मद्दत गर्छन् र मस्तिष्कको कार्यक्षमता सुधार्छन्।
केबाट जोगिनु उपयुक्त ?

विशेषज्ञहरूका अनुसार खाली पेट धेरै चिया वा कफी पिउने, अत्यधिक तारेको, प्रशोधित वा चिनी बढी भएको खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यस्तो बानीले ग्यास्ट्रिक, मोटोपन, उच्च रक्तचाप तथा मुटुरोगको जोखिम बढाउन सक्छ। बिहानको खाजामा केवल बिस्कुट, चाउचाउ वा फास्टफुडमा निर्भर हुनु पनि दीर्घकालीन रूपमा स्वास्थ्यका लागि राम्रो मानिँदैन।

नियमित बिहानको खाजाको महत्व
चिकित्सकहरूका अनुसार बिहानको खाजा नियमित रूपमा सन्तुलित खान सके दिनभर ऊर्जा कायम रहन्छ । अनावश्यक स्न्याक्स खाने बानी घट्ने,तौल नियन्त्रणमा सहयोग पुग्ने र दीर्घकालीन रोगको जोखिम कम हुने फाइदा हुन्छ ।

स्वास्थ्य विज्ञहरूको अनुसार बिहानको खाजा ठूलो नभए पनि सन्तुलित र पौष्टिक हुनुपर्छ। स्थानीय रूपमा उपलब्ध अन्न, फलफूल र दुग्धजन्य पदार्थ प्रयोग गरी स्वस्थ खाजाको बानी बसाल्दा मात्र दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली सम्भव हुने उनीहरूको भनाइ छ।