काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको जनाएको छ।
यस निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सक्नेछन्। एउटै संस्थाले बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सक्ने व्यवस्था छ।
बोलकबोलबाट रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकता दिइनेछ र आह्वान गरिएको कुल रकम नपुग्दासम्म क्रमशः स्वीकृत गरिने राष्ट्र बैंकले जनाएको छ।
संकलित रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा रहनेछ र उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन।
राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि नियमित रूपमा यस्ता उपकरणमार्फत बजारबाट निक्षेप संकलन गर्दै आएको छ।
आर्थिकन्यूज