काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात सामान्य रुपमा घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिमा तुलनामा ईभी (कार जीप र भ्यान)को आयात ५.७५ प्रतिशतले घटेको हो ।
चालु आवको साउनदेखि माघ मसान्तसम्म कुल ५ हजार ८९६ वटा ईभी आयात भएको छ । गत आवको सोही अवधिमा ६ हजार ३५६ वटा ईभी आयात भएको थियो । यसैगरी, ईभी आयात घट्दा नेपालबाट विदेशीले रकम र भन्सार राजस्व पनि घटेको छ । पछिल्लो ७ महिनामा ईभीका लागि १३ अर्ब ८५ करोड ५० लाख बाहिरिएको छ । गत आवको सोही अवधिमा १४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ बाहिरिएको थियो ।
यसरी, ईभी आयात घट्दा ६.८४ प्रतिशतले ईभी आयातबाट हुने राजस्व घटेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ईभी आयत गर्दा यस अवधिमा ८ अर्ब ४६ करोड २६ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत आवको सोही अवधिमा ९ अर्ब ८ करोड ४२ लाख रुपैयाँ उठेको थियो ।
चिनबाट हुने आयात १२ प्रतिशतले घट्यो
नेपालमा खासगरी ईभीको आयात भनेको चिनबाट हुने गर्दछ । औसतमा ७५ प्रतिशत ईभी चिनबाट आयात हुने गर्दछ । तर, पछिल्लो समय चिनबाट आयात हुने आयात १२ प्रतिशतले घट्दा ईभीको साग्रह आयातमा ह्रास आएको हो ।
यस अवधिमा चिनबाट ४ हजार २०४ वटा ईभी आयात भएको छ । जुन गत आवमा चिनबाट ४ हजार ७६९ वटा ईभी आयात भएको थियो ।
यसैगरी, भारतबाट आयत हुने ईभीको संख्या पनि घटेको छ । यस अवधिमा भारतबाट १ हजार २६५ वटा ईभी आयात भएको छ । गत आवको सोही अवधिमा १ हजार ४५९ वटा ईभी आयात भएको थियो । अर्थात् भारतबाट भित्रिने ईभीको संख्या १३.२९ प्रतिशतले घटेको हो ।
चिनीया ईभीको हिस्सा ७१ प्रतिशत
यस अवधिमा आयात भएको ईभीको ७१.३० प्रतिशत हिस्सा चिनिया ईभीले ओगटेको छ । त्यसैगरी, २१.४५ प्रतिशत हिस्सा भारतीय ईभीले ओगटेको छ । बाँकी हिस्सा थाइल्याण्ड, अमेरिका, अस्ट्रेलिया, जर्मनी र दक्षिण कोरियाको ईभीले ओगटेको छ ।
यस अवधिमा चिनबाट ५० किलोवाटसम्मका १ हजार २५६ वटा ईभी, ५१ देखि १०० किलोवाटसम्मका २ हजार ५०२ ईभी, १०१ किलोवाटदेखि २०० सम्मका ४४२ वटा र २०१ देखि ३०० किलोवाटसम्मका ४ वटा ईभी भित्रिएका छन् ।
भारतबाट ५० किलोवाटसम्मका क्षमता भएका तर एसेम्बलिङ नभएका २ वटा, सोही क्षमता भएका र एसेम्बलिङ भएका ७३६ वटा, ५१ देखि १०० किलोवाटसम्मका ४९८ वटा र १०१ देखि २०० किलोवाटसम्मका २९ वटा ईभी आयात भएका छन् ।

आर्थिकन्यूज