काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आवको मंसिरसम्म कुल वैदेशिक सहायता प्रतिबद्धता ४६ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिबद्धता ९६ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो।
कुल प्रतिबद्धतामध्ये ३२.२ प्रतिशत अनुदान र ६७.८ प्रतिशत ऋण रहेको छ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी ७३.३ प्रतिशत सहायता सडक पूर्वाधार क्षेत्रमा केन्द्रित भएको छ भने शिक्षा क्षेत्रमा सबैभन्दा कम ०.३ प्रतिशत प्रतिबद्धता रहेको छ। चीन सरकारले स्वास्थ्य तथा मानव संशाधन विकास क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।
स्रोतका आधारमा हेर्दा कुल प्रतिबद्धतामध्ये सबैभन्दा बढी ४५.१ प्रतिशत सहयोग जापान सरकार (जाइका)बाट प्राप्त भएको छ। बाँकी सहायता चीन, विश्व खाद्य कार्यक्रम, युरोपेली युनियन, विश्व बैंक र कोइकाबाट आएको छ।
अर्थतन्त्रका सूचक मिश्रित, मुद्रास्फीति न्यून तर व्यापार घाटा बढ्यो
चालु आर्थिक वर्षको मंसिरसम्मका आर्थिक तथा वित्तीय सूचकहरू मिश्रित देखिएका छन्।सरकारको राजस्व संकलन १.७ प्रतिशत र खर्च १.५ प्रतिशतले बढेको छ। यद्यपि पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्च घटेको छ।
वस्तु निर्यात र आयात दुवैमा वृद्धि भएको छ। तर व्यापार घाटा १०.५ प्रतिशतले बढेको छ। निर्यात–आयात अनुपात सुधार भई १५.२ प्रतिशत पुगेको छ भने कुल व्यापारमा निर्यातको हिस्सा १३.२ प्रतिशत पुगेको छ।
मुद्रास्फीति न्यून स्तरमै कायम छ। २०८२ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ भने चालु आवको औसत मुद्रास्फीति १.५५ प्रतिशत रहेको छ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (नयाँ तथा पुनः) लिने नेपाली कामदारको संख्या ४.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ।
चालु खाता र शोधनान्तर स्थिति उच्च बचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति बढ्दै गई १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थामा पुगेको छ।
वित्तीय क्षेत्रमा ब्याजदर घटेको छ। निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा बढेको छ। प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह बढाउने र निष्क्रिय कर्जा अनुपात घटाउने चुनौती भने कायमै रहेको छ।
यसैबीच, नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ। बीमा दायरा र प्रिमियम संकलनमा वृद्धि भएको छ। पूँजी बजारप्रति लगानीकर्ताको आकर्षण रहे पनि नेप्से सूचकाङ्कमा भने उल्लेख्य सुधार देखिएको छैन।
आर्थिकन्यूज