शीर्षकहरू

मतदाताको भरोसा र अपेक्षाको बीचमा डीपी अर्याल

मतदाताको भरोसा र अपेक्षाको बीचमा डीपी अर्याल

काठमाडौं । शनिबार बिहान नागर्जुन नगरपालिका वडा नम्बर ८ अझै पूर्ण रूपमा ब्यूँझिएको थिएन । उकालो बाटोमा हल्का कुहिरो थियो । घरका आँगनमा गाईबस्तु खोलिँदै थिए, कोही तरकारीको डोको बोकेर ओरालो झर्दै थिए । त्यही शान्त बिहानलाई चिर्दै टाढाबाट चुनावी गीतको आवाज आयो।

दुई वटा गाडी र केही मोटरसाइकलहरू, झण्डाले सजिएका। स्पीकरबाट बजिरहेको गीत। गाउँलेहरू ढोकामा निस्किए हेर्न, बुझ्न, सुन्न।

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ क्षेत्र नम्बर ९ का उम्मेदवार डोलप्रसाद (डीपी) अर्याल त्यही टोलीसँग थिए।

भीमढुङ्गा पुगेपछि गाडी रोकिन्छ। अर्याल ओर्लिन्छन्। समर्थकहरू हात हल्लाउँदै नजिकिन्छन् । तर उनी सिधै भीमढुङ्गा मन्दिरतर्फ लाग्छन्। सिँढीमुनि जुत्ता फुकालेर उनी माथि उक्लिन्छन् । मन्दिरमा ढोग गर्छन्, परिक्रमा लगाउँछन्, शिर नुहाउँदै केही क्षण आँखा चिम्लेर उभिन्छन्।

त्यो दृश्यमा चुनावी उत्तेजना थिएन, बरु एउटा मौन जिम्मेवारीको संकेत थियो, जसले मतदाताको विश्वास बोक्नुपर्नेछ । मन्दिरको प्राङ्गणबाट तल झर्दा उनी फेरि उम्मेदवार बनेका थिए । तल गाउँ प्रतीक्षामा थियो।

पोखरेको आँगनमा अबिर, खादा र फूलमाला तयार थिए । गरतौला परिवारको अनुहारमा उत्साह र अपेक्षा दुवै मिसिएको थियो । ६५ वर्षीय श्यामप्रसाद गरतौला काँधमा खादा राख्दै भन्छन्, “हामीलाई नभुल्नु है । जितेर गएपछि फर्केर आउनु ।”

उनको स्वरमा विगतको अनुभवको थकान सुनिन्छ । छेउमै उभिएकी राधा गरतौला भन्छिन्, “धेरैले वाचा गरे, पुरा गरेनन् । यसपटक तपाईंलाई विश्वास गरेका छौं ।” 

६० बर्षिया भगवती बरर्तोलाले उत्साहित हुँदै भनिन्, “यो पटक घण्टीलाई नै हो । हामी धेरै खुशी छौँ ।”

राम प्रसाद गरतौलाले थपे, “हामी खुशी छौं । यसपाली त घण्टी नै हो ।”

त्यो वाक्य केवल आग्रह होइन, चेतावनी पनि थियो।

null

अलि अगाडि पोखरे फेदीमा युवाहरूको समूह उभिएको थियो । २८ वर्षीय सुमन बास्कोटा भन्छन्, “हामीले धेरैलाई हे¥यौं । यसपाली घण्टी नै बजाउने हो।” 

अर्याललाई भेट्न निस्केका ३१ बर्षिया शिव तमांगले भने, “यसपाली त घण्टी नै हो। अरुलाई देखेर दिक्क भयौं।”

अर्याललाई देखेर खुशी हुँदै उनले नारा लगाए : “भोट के मा.... घण्टीमा .........।”

घरबाहिर निस्केका ३२ बर्षिया रबीन्द्र बास्कोटाले घण्टी बजाउँदै थपे, “अब नयाँ परिवर्तनको लागि घण्टी नै हो ।”

गाउँका युवाहरूको चाहना केवल नारा होइन, अवसर हो, रोजगारी हो, सम्मान हो।

null

फेदीमा नै भेटिएका ५४ वर्षीय सुदर्शन बास्कोटा अंगालो हाल्दै भन्छन्, “देशमा भएका भष्ट्राचारीलाई स्वाहा पार्नुपर्छ । त्यो काम घण्टीले नै गर्छ । शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या छ । यसमा काम गर्नुहोला ।” 

उत्साहित हुँदै उनले नारा पनि लगाए : “भोट के मा......घण्टीमा........?”

बाटोमै भेटिएका ६३ बर्षिया हरिशरण बास्कोटाले भने, “यसपाली घण्टी मात्रै बज्ने हो । काम पनि गर्नु पर्छ है । अरु नेता जस्तै गफ मात्रै नगर्नु होला । जितेर हाम्रो घरमा आगो बाल्नु पर्दैन । हाम्रा छोराछोरीका लागि देशमै खाने ठाउँ बनाई दिनु होला।”

वृद्ध हातहरू टाउकोमा राखेर आशीर्वाद दिन्छन्, तर त्यो आशीर्वादसँगै सर्त पनि जोडिएको छ, काम गर्नुपर्छ।

null

पोखरेबाट गाडी खड्का गाउँ तर्फ उक्लियो । उकालोमा बाटो छेक्दै शिव कुमार बुढाथोकी भेटिए । उनले अर्याललाई हात समातेर घर पु¥याए । घरको पिँढीमा बसाएर र कोठामा छिरे । उनकी श्रीमती चनी बुढाथोकीले चिया पकाउँछु भनेर स्वागत गरिन्।

“पानी मात्रै खान्छु,” अर्याल मुस्कुराउँदै भन्छन्।

शिव कुमार अबिर र खादा लिएर आए । हर्ष, खुशी र भावुक हुँदै उनले लगाइदिए। ६७ बर्षिया बुढाथोकीले भने, “घण्टीलाई अत्याधिक बहुमतले भोट दिएर जिताउने हो । घुस खाने भ्रष्टचारी काम नगर्नु होला । हजुरले जित्ने शतप्रतिशत पक्का छ। यहाँका जनता उत्साहित छन् । राम्रो काम गरेर देखाउनु होला ।”

null

अगाडि बाटोमै भेटिएका ६१ बर्षिया राम बहादुर बुढाथोकीले भने, “हाम्रो अवस्था देख्नुभयो । जितेपछि हाम्रो ठाउँको पनि सोच्नु होला । भोट घण्टीलाई नै हो ।”

null

टोली उकालो चढ्दै खड्का गाउँ पुग्छ । कच्ची बाटोमा उडेको धुलोले गाउँको वास्तविकता झल्काउँछ, अधूरो पूर्वाधार । ४१ बर्षिया हरी खड्का भन्छन्, “हामीलाई विकास चाहिएको हो । उत्पादनको बजार छैन । समयमा मल पाइँदैन, पाइए पनि महँगो।”

उनको कुरा केवल व्यक्तिगत गुनासो होइन, सीमान्त क्षेत्रको सामूहिक पीडा हो। काठमाडौं र धादिङको सिमानामा बसेर पनि आफूलाई काठमाडौँबासी भन्न नसक्ने अवस्थाले उनीहरूलाई राज्यबाट टाढिएको महसुस गराएको छ।

शनिबारभरि टोली थाप्ले, बरुवाल गाउँ, दुबेचौर, पाखुरे, बुढाथोकी गाउँ, खड्का गाउँ, मजुवा, बसपार्क, सेतोघर र भिरकोट–घट्टेकुलो हुँदै घर–घर पुग्यो । कतै मेला हिँडेकाले रोकिए, कतै तरकारी बारीमै भेट भयो, कतै गाडीबाट ओर्लेर खादा–माला लगाइदिए।

गाउँमा घण्टीको आवाज घन्कियो । तर त्यो आवाजसँगै एउटा मौन प्रश्न पनि थियो, यो पटक फरक हुन्छ ?

नागर्जुन ८ ले धेरै चुनाव देखिसकेको छ । धेरै वाचा सुनेको छ । आशा र निराशाको चक्रमा घुमेको छ । तर यसपटक गाउँका अनुहारहरूमा देखिएको चमक केही फरक थियो, सायद पुरानो शैलीबाट दिक्क भएका मतदाताको अन्तिम प्रयास जस्तै।

‘मेरो लक्ष्य केवल वाचा होइन, काम देखाउने हो’

घरदैलो रिपोर्टिङका क्रममा रास्वपा उम्मेदवार अर्यालसँग गरेको कुराकानीको अंश :

तपाईं यसअघि रास्वपाको समानुपातिक सांसद हुनुहुन्थ्यो । यसपटक प्रत्यक्ष उम्मेदवारको रूपमा आउँदा कस्तो फरक महसुस भइरहेको छ ?

समानुपातिक सांसदको रुपमा काम गर्दा, मेरो ध्यान प्राय : नीति निर्माण, दलको रणनीति र संसदमा उठ्ने बृहत्तर मुद्दामा थियो । त्यतिबेला मतदाता भेट्ने मौका सीमित हुन्थ्यो, र उनीहरूको दैनिक जीवनमा के भइरहेको छ भन्ने कुरा सिधै महसुस गर्न सकिदैनन्थ्यो।

तर प्रत्यक्ष उम्मेदवार भएर आउँदा अनुभव पूर्णत : फरक छ । घरघर, आँगन–आँगन, बाटो–बाटोमा भेट्दा मतदाताको आशा, चिन्ता, उत्साह र अपेक्षा सिधै महसुस हुन्छ । कतिपय वृद्ध मतदाताले टाउकोमा हात राखेर आर्शिवाद दिन्छन्, कतिपय युवा उत्साहपूर्वक नारा लगाउँछन्।

हरेक भेटले मलाई जिम्मेवार र जोडिएको महसुस गराउँछ । अब केवल वाचा दिने होइन, काम देखाउने, भरोसा निभाउने चुनौती पनि साथमा आउँछ । मतदाताको नजरमा विश्वास र अपेक्षाले मलाई अझ काम गर्न प्रेरित गर्छ । यो सम्बन्ध केवल राजनीतिक होइन, मानवीय र भावनात्मक पनि छ।

तपाईको क्षेत्रको समस्या के–के रहेछन् ? यसलाई सम्बोधन गर्न कस्तो खालको योजना बनाउनु भएको छ ?

मेरो क्षेत्र काठमाडौं ९ भौगोलिक रूपमा विविध छ । यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर व्यवस्थापन, यातायात र समावेशी विकास जस्ता समस्या लामो समयदेखि छन् ।

शिक्षामा सबै सामुदायिक विद्यालयमा भ्रष्टाचार र अनुशासन सम्बन्धी अन्तरक्रिया गर्दै, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मैले योजना बनाएको छु । स्वास्थ्य क्षेत्रमा सबै वडामा २४ सै घण्टा न्यूनतम सेवा प्रवाह, ज्येष्ठ नागरिक, असक्त र विपन्न बालबालिकालाई नि ः शुल्क सुविधा, र सडक दुर्घटनाबाट ज्यान बचाउन स्थानीय अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने योजना छ।

भौतिक विकासमा, बजेटको न्यायोचित वितरण, सडक, पुल, ढल निकास र फोहोर व्यवस्थापनमा समन्वय, मेलम्चीको पानी वितरण विस्तार, आकाशे पानी संकलन र खोला किनाराको हरियाली तथा सौन्दर्यीकरण योजना कार्यान्वयन गर्नेछु।

समावेशी विकासको दृष्टिले महिला, बालबालिका, अपाङ्गता, दलित र पिछडिएका वर्गलाई सेवा प्रवाह र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य राखेको छु।

युवा, खेलकुद, पर्यटन र रोजगारी सिर्जनामा पनि जोड दिनेछु । स्थानीय युवालाई स्टार्टअप र सांस्कृतिक गतिविधिमा प्रोत्साहित गर्दै, स्वरोजगार सिर्जना गर्ने योजना बनाएको छु।

मेरो योजना केवल वाचा होइन, कार्ययोग्य, पारदर्शी र समावेशी समाधान ल्याउने प्रतिबद्धता हो । प्रत्येक घर र समुदायसँग सम्पर्कमा रहँदै समस्या पहिचान र समाधान सुनिश्चित गर्ने मेरो प्राथमिकता छ।

निर्वाचन जितेपछि तपाईले तत्काल गर्ने कामहरू के–के हुन् ?

निर्वाचन जित्ने वित्तिकै मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु हो। प्रत्येक वडामा नागरिक अगुवासहितको खवरदारी टोली गठन गरी समस्या छिटो समाधान गर्नेछु । मासिक क्षेत्रगत सार्वजनिक सुनुवाईको माध्यमबाट जनता सिधै आफ्नो समस्या ल्याउन सक्नेछन्, र म १–३० दिनभित्र समाधानको पहल गर्नेछु।

भौतिक विकासमा पनि तुरुन्त पहल हुनेछ । सडक, पुल र ढल–निकास प्रणालीको सुधार, फोहोर व्यवस्थापन, मेलम्चीको पानी वितरण विस्तार, आकाशे पानी संकलन र खोला किनाराको हरियाली तथा सौन्दर्यीकरण कार्य सुरु गर्नेछु।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि तत्काल कदम चाल्ने योजना छ। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र २४ सै घण्टा न्यूनतम स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गर्नेछु । ज्येष्ठ नागरिक, असक्त र विपन्न बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउने छु।

साथै समावेशी विकास, रोजगार सिर्जना, युवा तथा खेलकुद, पर्यटन र सांस्कृतिक गतिविधिमा छिटो पहल गर्नेछु । क्षेत्रको प्रत्येक नागरिकलाई न्यायोचित सेवा प्रवाह र आत्मनिर्भर विकासको वातावरण बनाउने मेरो प्रतिबद्धता छ।

मैले वाचा गरेको हरेक काम छिटो, पारदर्शी र प्रभावकारी रुपमा लागू गर्ने योजना तयार गरेको छु । जनताको भरोसा केवल वाचा होइन, कामद्वारा कायम राख्नुपर्छ भन्ने मेरो दृढ विश्वास हो ।