काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह बढाउने रणनीति अपनाएको भए पनि बैंकहरु अझै पनि कर्जा विस्तारमा ढुक्क देखिएका छैनन्। बैंकहरुले ऋण प्रवाहको सट्टा राष्ट्र बैंकले जारी गर्ने विभिन्न अल्पकालीन उपकरणमा नै लगानीका लागि प्रतिस्पर्धामा लागेका छन् । यसबाट बैंकहरुको कर्जा बढाउने उदेश्यप्रति अविश्वास गहिरो भएको प्रष्ट हुन्छ।
बढी तरलता हुँदा पनि व्यवसायीमा कर्जा मागको कमी, ऋण भुक्तानी दबाब र वित्तीय संस्थाको जोखिम व्यवस्थापनले कर्जा प्रवाह सुस्त बनेको छ । यसरी बैंकहरुले अल्पकालीन उपकरणमा प्रतिस्पर्धा गर्नुले मौद्रिक नीतिको प्रभाव तत्काल देखिन नसकेको संकेत दिन्छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नसकेको साढे ८ खर्ब रुपैयाँभन्दा बढी रकम केन्द्रीय बैंकमै राखेका छन्।
निक्षेप वृद्धि निरन्तर भए पनि सोही अनुपातमा कर्जा माग नहुँदा बैंकहरु राष्ट्र बैंकले जारी गर्ने निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र ऋणपत्रमा लगानी गरिरहेका छन्। अधिक तरलताका कारण अन्तरबैंक ब्याजदरमा दबाब परेको र केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा चुनौती थपिएको छ।
हाल बैंकहरूसँग लगानीयोग्य रकम ११ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । केन्द्रीय बैंकले आज मात्रै निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ५७ अर्ब ७५ करोड रुपैयाँ तरलता खिचेको छ। यससँगै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखेको कुल रकम ८ खर्ब ३८ अर्ब १० करोड पुगेको छ।
पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ । केही साताअघि दुई साता राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट पैसा झिक्न थालेपछि निक्षेप संकलन औजार जारी भएको थिएन । त्यसपछि भने नियमित रुपमा सातामा दुई पटक निक्षेप संकलनमार्फत बजारबाट पैसा झिकिरहेको छ ।
आजै खिच्यो १ खर्ब ५७ अर्ब ७५ करोड
केन्द्रिय बैंकले कर्जा बढाउने खालको रणनीति लिएको भएपनि बैंकहरु भने राष्ट्र बैंकमा पैसा जम्मा गर्ने प्रतिस्पर्धामा देखिएका छन् । आजै मात्र केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण तथा स्थाई निक्षेप सुविधा मार्फत १ खर्ब ५७ अर्ब ७५ करोड तरलता खिचेको छ। निक्षेप संकलन उपकरणमार्फत ८७ दिनका लागि ३० अर्ब तानेको छ। त्यस्तै स्थाई निक्षेपमा बैंकहरुले १ खर्ब २७ अर्ब ७५ करोड राखेका छन्। यो भने आगामी मंगलबार परिपक्क हुनेछ।
राष्ट्र बैंकले आज ८७ दिनका लागि खिचेको ३० अर्ब निक्षेपको औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको छ । बोलकबोलमा १७ वटा बैंक तथा वित्तीय संस्थाबाट ५४ वटा आवेदन मार्फत ७४ अर्ब ९० करोड रुपैयाँ राष्ट्र बैंकमा राख्न चाहेको थिए । तर, राष्ट्र बैंकले मागेजति ३० अर्ब रुपैयाँ मात्र लिएको छ । यो रकमसहित बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा निक्षेप संकलन उपरकरण मार्फत जम्मा गरेको रकम ५ खर्ब १० अर्ब ३५ करोड परिपक्क हुँन बाँकी देखिन्छ ।
राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब ३८ अर्ब
नेपाल राष्ट्र बैंकका अनुसार आजै बैंकहरुले स्थायी निक्षेपमा १ खर्ब २७ अर्ब ७५ करोड राखेका छन् । योसँगै बैंकहरुले लगानी गर्न नसकेको ८ खर्ब ३८ अर्ब १० करोड राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकहरुले हालसम्म निक्षेप संकलन उपरकरण मार्फत जम्मा गरेको रकम ५ खर्ब १० अर्ब ३५ करोड, स्थायी निक्षेपमा १ खर्ब २७ अर्ब ७५ करोड तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमा २ खर्ब राखेका छन् ।
कर्जा बढाउने रणनीतिमै अविश्वास गहिरियो
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत धितोमा प्रवाह हुने लघु कर्जाको सीमा बढाउने, बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण ल्याउँदा तिर्ने ब्याजदर (स्थायी तरलता सुविधा दर) घटाउने, ओभरड्राफ्टको सीमा बढाउनेलगायत व्यवस्था गरेकोे छ ।
नयाँ व्यवस्थाअनुसार व्यक्तिगत ओभरड्राफ्टमा एक करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । यसअघि यस्तो सीमा ५० लाख मात्र थियो । ओभरड्राफ्टमार्फत ऋण लिन पाउने व्यक्तिगत सीमा विगतमा एक करोड नै थियो । यो व्यवस्थाले ओभरड्राफ्टमार्फत धेरै कर्जा प्रवाह होस भन्ने राष्ट्र बैंकको उदेश्य रहेको छ ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यसैगरी, लघुवित्त वित्तीय संस्थाले अब घितोमा कर्जा प्रवाह गर्न पाउने व्यवस्थालाई ७ लाखबाट बढाएर १५ लाख पुर्याएको छ । साथै राष्ट्र बैंकले बाढी–पहिरो प्रभावित ऋणलाई ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको छ । तर पनि बैंकहरुको कर्जा विस्तारमा खासै सुधार आएको देखिदैन् ।
लगानीयोग्य रकम साढे ११ खर्ब बढी
नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७७ खर्ब ४३ अर्ब रहेको छ । यसअवधिमा बैंकहरुले ५८ खर्ब ६ अर्ब मात्रै कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफुसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्छन् । तर, त्यो अनुपात अहिले ७४.२३ प्रतिशतमा रहेको छ । यसलाई हेर्दा बैंकहरुसँग अझै ११ खर्ब ६२ अर्ब भन्दा माथि रकम लगानी गर्न सक्ने अवस्थामा छन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । अधिक तरलताका कारण बैंकहरुले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर सीमा भन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले विभिन्न बैंकहरुबाट रकम तानेको तानै गर्नुपरेको छ ।व्यवसायीहरुमा कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले गर्दा कर्जा विस्तार हुन नसकेको बताइएको छ । अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ।
आर्थिकन्यूज