काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालले निर्वाचन पछि पनि मतदाताको घरदैलोमा आएर उनीहरूको समस्या सुन्ने वाचा गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत पर्ने नागर्जुनमा घरदैलो गर्ने क्रममा मतदाताले निर्वाचन पछि कुनै पनि उम्मेदवार फर्केर नआएको गुनासो गरेपछि अर्यालले निर्वाचन पछि पनि मतदाताको गुनासो सुन्न घरदैलोमा नै आउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले मतदातालाई सम्बोधन गर्दै भने, “निर्वाचन पछि मलाई खोज्न तपाईहरूले धाउनु पर्दैन । म आफैं तपाईहरुलाई भेट्न आउनेछु । तपाईहरूको समस्या र गुनासो तपाईहरूसँग बसेर नै सुन्नेछु ।”
उनी थप्छन्, “राजनीति दलहरूबाट जनताको विश्वास गुमेको छ । त्यसलाई हामीले चिर्नु पर्नेछ । त्यसैले म झुठो बोलेर तपाईहरूलाई फेरि निराश पार्ने छैन । मैले नसक्ने बाचा पनि गर्दिन । मैले सक्ने बाचा गरेको छु र त्यो पुरा गर्नेछु ।”
अर्यालले संघ, प्रदेश र स्थानीय सरकारले गर्ने काम र जिम्मेवारीको बाँडफाँड गर्दै आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने बताए ।
उनले भने, “यो निर्वाचन विशेष छ । यसले मुलुकलाई समृद्धि तर्फ लैजान्छ । हामीले संसदमा सानो संख्यामा भए पनि जनताको आवाज राखेका थियौं । लगातार आवाज उठायौ । तर, संख्यामा कमी भएकाले हाम्रो आवाज दबाइएको थियो । त्यसैले यस पटक हामीलाई बहुमत चाहिएको छ ।”
प्रचार अभियानका क्रममा अर्यालले थाप्ले, बरुवाल गाउँ, दुबे चौर, पाखुरे, बुढाथोकी गाउँ, खड्का गाउँ, मजुवा, बसपार्क, सेतो घर र भिरकोट घट्टेकुलो भेटघाट तथा घरदैलो गरेका थिए ।
अर्यालसँगको भेटघाटमा नागर्जुनका ६५ वर्षीय मतदाता श्याम प्रसाद गरतौलाले भने, “हामीलाई नविसर्नु है, अरु नेता जस्तै नहुनु । जितेपछि पनि फर्केर आउनु ।” ६५ वर्षीया राधा गरतौलाले थपिन्, “भोट माग्न मात्र होइन, काम गरेर देखाउनु पर्छ । हामीले विश्वास गरेका छौं ।”
प्रचार अभियानका क्रममा भेटिएका ३२ वर्षिया मतदाता रवीन्द्र बास्कोटाले भने, “अब नयाँ परिवर्तनको लागि घण्टी नै हो । तपाईंमाथि विश्वास छ, अब काम गरेर देखाउनु पर्छ ।”
शिव कुमार बुढाथोकीले जितको शुभकामना दिदै भने ‘भष्ट्राचारीलाई स्वाहा पार्नु हो । राम्रो काम गरेर देखाउनु ।
मतदातासँगको संवादमा अर्यालले मतदाताले देखाएको आत्मीयता र भरोसले आफूलाई भावुक र जिम्मेवार बनाएको बताए ।
अर्यालले आफ्नो बाचापत्रअनुसार लालपुर्जा विहिन समुदायलाई नियमसंगत जग्गाधनी पुर्जा वितरणको व्यवस्था गर्ने, बाटो स्तरोन्नति गर्दा वितरण नभएको मुआब्जा नीति सँगत वितरणका लागि संघीय संसदमार्फत पहल गर्ने बताए । मस्र्याङ्दी जलविद्युत तथा कुलेखानी जलविद्युत आयोजनाबाट आएको हाइटेन्सन लाइन क्षेत्रमा नियमसंगत मुआब्जा र क्षतिपूर्ति वितरण तथा व्यवस्थापनका अन्य विकल्प खोजिने उनले जनाए ।
यस्तै, सेतो गुम्बा क्षेत्र, इचंगुनारायण मन्दिरको संरक्षण र प्रवद्र्धन, कालुपाण्डे समाधि क्षेत्र, स्विजरल्याण्ड पार्कको प्रवद्र्धन, इन्द्रदहको संरक्षण, बद्रीनारायण धाम व्यवस्थापन, ऐन डाँडालाई पर्यटकीय क्षेत्रमा रूपान्तरण गरी स्वरोजगार र आय आर्जन सिर्जना गर्ने योजना अघि सारेका छन् । डाँडा र जंगल नजिकका होमस्टे र आधुनिक होटल सहितको पर्यटनलाई शहरी क्षेत्रका पुरातात्विक सम्पदा र संस्कृतिसँग एकीकृत गर्न विशिष्ट रूटको टुरिस्ट बस र नाइट लाइनर सञ्चालनको प्रतिबद्धता जनाएका छन् ।
रोजगारी सिर्जना गर्न व्यावसायिक तालिम केन्द्र स्थापना गरी विदेशबाट फर्केका युवालाई प्रशिक्षक बनाउने, सफल उद्यमीको कथा सेयर गर्ने व्यवस्था गर्ने र तीन सिफ्टमा तालिम सञ्चालन गर्ने नीति अघि सारेका छन् । पुरानो नैकापको खेलमैदान स्तरोन्नति, मध्य शहरमा खेलकुद संरचना निर्माण, स्टार्टअप, टेक्नोलोजी, खेलकुद र सांस्कृतिक गतिविधिमा स्थानीय युवालाई प्रोत्साहन गर्ने पनि उनले वाचा गरेका छन् ।
आर्थिकन्यूज