शीर्षकहरू

विशेष अदालतको आदेश : रञ्जिता श्रेष्ठ धरौटीमा रिहा

विशेष अदालतको आदेश : रञ्जिता श्रेष्ठ धरौटीमा रिहा

पोखरा । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गरिएका पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ।  आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो।  आयोगले गत असोज २२ गते श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  श्रेष्ठसँग ७८ लाख रुपैयाँ विगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।  

यो प्रकरण पोखरा महानगरपालिका–१६ स्थित दीपविर्ता (लिचीबगैँचा) क्षेत्रको नक्सा नम्बर २५, २६ र २८ को जग्गासँग सम्बन्धित छ। अख्तियारले सार्वजनिक गरेको अडियो प्रमाण विधिविज्ञान प्रयोगशालाबाट सक्कली ठहर भएपछि, पोखराको बाटुलेचौरस्थित १३४ रोपनी लिचीबगान हडप्ने योजनामा संलग्न भएको आरोपमा मन्त्री गुप्ताले राजीनामा दिएका थिए।  त्यस्तै, आदेशसँगै पूर्वमन्त्री श्रेष्ठलाई धरौटीमा रिहा गरिएको छ भने मुद्दा भने अझै अदालतमा विचाराधीन छ।