शीर्षकहरू

आज दुई बीमा कम्पनीको साधारणसभा, एशियन लाइफ र नेकोले कति बाँड्दैछन् लाभांश?

आज दुई बीमा कम्पनीको साधारणसभा, एशियन लाइफ र नेकोले कति बाँड्दैछन् लाभांश?

काठमाडौं । लाभांश पारित गर्ने मुख्य एजेन्डासहित आज दुई बीमा कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आज फागुन ११ गते साधारणसभा आह्वान गरेका हुन्।

एशियन लाइफको १८औं वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, एनएफआरएसअनुसार तयार वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयरपछि जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पेश हुनेछन्।

कम्पनीले लाभांश तथा सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गरिसकेको छ। माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य छन्।

यस्तै, नेको इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभामा लैजाँदैछ।

सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयरपछि चुक्ता पूँजी वृद्धि गर्ने र नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि समावेश छन्।

कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेको छ। माघ २४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी भई लाभांश पाउनेछन्।