शीर्षकहरू

सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा छैन

सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा छैन

एजेन्सी । मलेसियाको सबाह राज्य नजिक पर्ने सुलु सागर क्षेत्रको जमिनमुनि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस)का अनुसार स्थानीय समयअनुसार सोमबार बिहान १२:५७ बजे आएको उक्त भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ।

सन् १९२३ यताकै अभिलेखअनुसार यस क्षेत्रमा आएको यो भूकम्प सबैभन्दा ठूलोमध्ये एक मानिएको छ। भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रभित्र रहेको र यसको गहिराइ करिब ६२० किलोमिटर रहेको जनाइएको छ। भूगर्भविद्हरूका अनुसार यति गहिराइमा जाने भूकम्पले सामान्यतया सतहमा कम प्रभाव पार्ने भएकाले ठूलो क्षतिको जोखिम न्यून हुने गर्दछ।

यसै कारण सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। केन्द्रविन्दु अत्यधिक गहिराइमा रहेकाले सम्भावित ठूलो विपद् टरेको विज्ञहरूको विश्लेषण छ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ। केन्द्रका अनुसार भूकम्प समुद्रको गहिराइमा उत्पन्न भएकाले असामान्य समुद्री छाल उत्पन्न हुने सम्भावना देखिएको छैन।

मलेसियाको मौसम विज्ञान विभागले सर्वसाधारणलाई नआत्तिन र सामान्य दिनचर्या कायम राख्न आग्रह गरेको छ। भूकम्पपछि सबाह र सारावाकका बासिन्दाले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए। कम्पनका कारण केही मानिस सावधानीस्वरूप घरबाहिर निस्किएका थिए।

यस भूकम्पको असर छिमेकी मुलुक फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनहरूमा समेत हल्का रूपमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सबाहको विपद् व्यवस्थापन तथा उद्धार विभागका अनुसार हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले समुद्री तट तथा जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएका छन्।