काठमाडौं। आगामी एक महिनाभित्र छ कम्पनीका सेयरमा लागू गरिएको ‘लकइन’ अवधि सकिने भएको छ। म्युचुअल फन्ड, संस्थापक सेयरधनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयलाई छुट्याइएको सेयरमा लकइन अवधि समाप्त हुन लागेको हो।
लकइन अवधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि सूचना दिनुपर्ने प्रावधानअनुसार सम्बन्धित कम्पनीहरूले सार्वजनिक सूचना जारी गरिरहेका छन्। लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणसरह नै दोस्रो बजारमा कारोबार गर्न पाइनेछ।
लकइन अवधि सकिन लागेका कम्पनीहरूमा स्वस्तिक लघुवित्त, सागर डिस्टिलरी, सामुदायिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, सानिमा मिडिल तमोर हाइड्रोपावर र बुङ्गल हाइड्रोपावर छन्।
यीमध्ये स्वस्तिक लघुवित्तले म्युचुअल फन्डलाई छुट्याएको ११ हजार ५५० कित्ता सेयरको लकइन अवधि फागुन ११ गते सकिएको छ। यस्तै, **बन्दीपुर केबुलकार**ले सामूहिक लगानी कोषलाई छुट्याएको २ लाख ६४ हजार ७ सय कित्ता सेयरको लकइन अवधि फागुन २९ गते समाप्त हुने भएको छ।
चैत महिनामा सागर डिस्टिलरीको ७२ हजार ६ सय कित्ता (म्युचुअल फन्ड), सामुदायिक लघुवित्तको संस्थापक तथा कर्मचारीतर्फको २ लाख ४ हजार ५ सय कित्ता, झापा इनर्जीको २८ हजार ५१४ कित्ता तथा बुङ्गल हाइड्रोपावरको १ लाख ३ हजार ७५० कित्ता सेयरमा लकइन अवधि सकिनेछ।
सानिमा मिडिल तमोर हाइड्रोपावरमा भने सबैभन्दा ठूलो परिमाणमा सेयर लकइनमुक्त हुँदैछ। संस्थापक समूह, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयको गरी २ करोड ८३ लाख २६ हजार २५० कित्ता सेयर चैत ७ गतेदेखि कारोबारयोग्य बन्नेछ।
लकइन अवधि समाप्त भएसँगै ती सेयर बजारमा थप आपूर्ति बढ्ने भएकाले सम्बन्धित कम्पनीहरूको मूल्य तथा बजारगत गतिविधिमा प्रभाव पर्ने आँकलन गरिएको छ।
आर्थिकन्यूज