शीर्षकहरू

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त रकम ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको हो।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ बराबर रकम छुट्याइएको छ। लगानी अवधि सन् २०२६ फेब्रुअरी २७ देखि सन् २०२७ फेब्रुअरी २७ सम्म रहनेछ।

निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको मितिमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

कस्ता संस्थाले पाउँछन् निक्षेप ?

राष्ट्र बैंकले मुद्दती निक्षेपका लागि केही अनिवार्य सर्त तोकेको छ। निक्षेप लिन चाहने संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।

त्यस्तै, खुद तरल सम्पत्ति न्यूनतम सीमाभन्दा कम नभएको, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको तथा पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेछ।

राष्ट्र बैंकका अनुसार शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्था भए त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। समस्याग्रस्त घोषणा गरिएको संस्था भए त्यस्तो घोषणा फुकुवा भएको पनि कम्तीमा ६ महिना नाघेको हुनुपर्नेछ। साथै, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्तसमेत राखिएको छ।

केन्द्रीय बैंकको यो निर्णयले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनसँगै उपदान तथा पेन्सन कोषको रकम सुरक्षित तथा प्रतिफलमुखी रूपमा परिचालन गर्ने उद्देश्य राखेको जनाएको छ।