शीर्षकहरू

तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौं । लगातार तीन कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार सामान्य सुधारसहित बन्द भएको छ। २.४१ अंकले बढेर परिसूचक २६१६.९७ विन्दुमा पुगे पनि बजारमा लगानीकर्ताको सक्रियता भने घटेको छ। अघिल्लो दिनको तुलनामा कुल कारोबार रकममा उल्लेख्य कमी आएको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स १.६५ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले उकालो लागेको छ। यद्यपि, सूचक बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ भने घटेका उपसमूहहरूको गिरावटदर पनि सीमित रहेको छ।

अघिल्लो दिन ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ कम्पनीका ५६ हजार ३४७ पटकका कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरका १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भए।

यस दिन सालपा विकास बैंकको शेयर पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा बन्द भयो। रिलायन्स स्पिनिङ मिल्सको शेयर करिब साढे ९ प्रतिशतले उकालो लाग्दा मेगा म्युचुअल फण्ड–१ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता, एनआईबिएल समृद्धि फण्ड–२ को इकाईमूल्य ४.८१ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा रह्यो।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

null