शीर्षकहरू

सुकुम्बासी र खानेपानी समस्या समाधान पहिलो प्राथमिकता : चुन्नप्रसाद पौडेल

सुकुम्बासी र खानेपानी समस्या समाधान पहिलो प्राथमिकता : चुन्नप्रसाद पौडेल

रूपन्देही ।  चुन्नप्रसाद पौडेलले सुकुम्बासी समस्या समाधान र खानेपानी व्यवस्थापनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। नेपाली कांग्रेसका तर्फबाट रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले बुटवल क्षेत्रका दीर्घकालीन समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सोमबार तिलोत्तमा नगरपालिका–३मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी नागरिकले अझै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाउनु दुःखद अवस्था भएको बताए। वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था मिलाउन आफूले संसदमा पहल गर्ने उनले स्पष्ट पारे। जग्गाको स्वामित्व नहुँदा नागरिक विभिन्न सरकारी सेवा र पूर्वाधार सुविधाबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो।

पौडेलले खानेपानी अभावलाई पनि क्षेत्रको जटिल समस्याका रूपमा औँल्याए। तीव्र शहरीकरण र जनसंख्या वृद्धिसँगै स्रोत व्यवस्थापन र वितरण प्रणाली सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर दीर्घकालीन योजना कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।

null

कार्यक्रममा सहभागी प्रजापाल गिरीले रूपन्देही–२ औद्योगिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले व्यवस्थित सहरी विकास अपरिहार्य भएको धारणा राखे। उद्योग, व्यापार र पर्यटन विस्तारसँगै बसोबास व्यवस्थापन, सडक पूर्वाधार, सरसफाइ र खानेपानीजस्ता आधारभूत सेवामा विशेष ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए। दीर्घकालीन सहरी योजना नल्याइए भविष्यमा समस्या झनै जटिल बन्ने उनको चेतावनी थियो।

त्यस्तै मुक्ति राज पौडेलले विगतका निर्वाचनमा गरिएका वाचा पूरा नहुँदा नागरिक निराश बनेको बताए। उनले व्यवहारिक योजना र कार्यान्वयन क्षमताका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा देखिएका चुनौती समाधान नगरी समग्र विकास सम्भव नहुने उनको भनाइ थियो।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सुकुम्बासी व्यवस्थापन, खानेपानी अभाव, सडक मर्मत, ढल निकास र रोजगारी अवसर अभावलगायतका विषय उठाएका थिए। सहभागीहरूले ठोस कार्ययोजनासहित दीर्घकालीन समाधान प्रस्तुत गर्न उम्मेदवारसँग आग्रह गरेका थिए।

पौडेलले आफू निर्वाचित भएमा क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्ने दोहोर्‍याउँदै स्थानीय सरोकारका विषय संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै पारदर्शिता र उत्तरदायित्वलाई आधार बनाएर काम गर्ने उनको दाबी छ।

null

रूपन्देही क्षेत्र नम्बर २ मा औद्योगिक विस्तार, शहरीकरण र जनसंख्या वृद्धिसँगै आधारभूत सेवाको माग तीव्र बन्दै गएको छ। यस्तो अवस्थामा सुकुम्बासी व्यवस्थापन र खानेपानी समस्या आगामी निर्वाचनका प्रमुख मुद्दाका रूपमा देखिएका छन्। उम्मेदवारहरू अहिले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।