वीरगञ्ज । आइतबार साँझ दुई समुदायबीच भएको झडपपछि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बिहान ९ः४५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
भोला दाहालद्वारा जारी आदेशअनुसार अर्को सूचना नआएसम्म सर्वसाधारणको आवतजावत, भेला, जुलुस, सभा–सम्मेलन, बैठक, घेराउलगायत सबै प्रकारका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको स्पष्ट पारेको छ।
कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला पनि तोकिएको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटभित्रको सम्पूर्ण क्षेत्र कर्फ्युको दायराभित्र पर्नेछ। उक्त क्षेत्रमा अनुमति बिना कसैले पनि हिँडडुल गर्न पाउने छैन।
यद्यपि अत्यावश्यक तथा मानवीय सेवामा भने प्रशासनले सहजीकरण गर्ने जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधन निर्वाध सञ्चालन गर्न दिइनेछ। सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीलाई पनि सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले जनाएको छ। हवाई टिकट भएका यात्रुलाई पनि आवतजावतमा अवरोध नहुने बताइएको छ।

हाल शहरका मुख्य चोक र संवेदनशील स्थानहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पछिल्ला घटनाले सामाजिक सद्भावमा असर पर्ने जोखिम देखिएपछि कर्फ्यु लगाइएको प्रशासन स्रोतको भनाइ छ।
प्रशासनले आदेश उल्लंघन गर्ने जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई संयमता अपनाउन र सहयोग गर्न आग्रह गरेको छ।
आर्थिकन्यूज