शीर्षकहरू

वीरगञ्जमा तीन बुँदे सहमति, कर्फ्यु हटाइने

वीरगञ्जमा तीन बुँदे सहमति, कर्फ्यु हटाइने

 

वीरगञ्ज । वीरगञ्जमा दुई धर्म समुदायबीच आइतबारदेखि उत्पन्न तनाव साम्य पार्न तीन बुँदे निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको बैठकले दोषीलाई कानुनी दायरामा ल्याउने, पीडित पक्षबाट जाहेरी लिई प्रक्रिया अघि बढाउने तथा दुष्प्रचार र हेट स्पीच गर्नेलाई साइबर तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको हो।

बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकाय प्रमुख, राजनीतिक दल तथा हिन्दु–मुस्लिम समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो। धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले शान्तिको सन्देश दिने सहमति पनि भएको छ।

यसैबीच जिल्ला सुरक्षा समितिले सोमबार बिहानदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाउने निर्णय गरेको छ। यसअघि सुरक्षा अवस्था जटिल बनेपछि प्रशासनले वीरगञ्ज महानगर क्षेत्रका विभिन्न भागमा कर्फ्यु लगाएको थियो। प्रशासनले नागरिकलाई शान्ति र संयम कायम राख्न अपिल गरेको छ।