शीर्षकहरू

वीरगञ्जमा तनाव साम्य पार्न तीन बुँदे निर्णय, कर्फ्यु आदेश हटाउने सहमति

वीरगञ्जमा तनाव साम्य पार्न तीन बुँदे निर्णय, कर्फ्यु आदेश हटाउने सहमति

वीरगञ्ज।  वीरगञ्जमा दुई फरक धर्म समुदायबीचको विषयलाई लिएर आइतबार देखि उत्पन्न तनाव साम्य पार्न तीन बुँदे निर्णय गरिएको छ।

सोमबार अपरान्ह जिल्ला प्रशासन कार्यालय पर्सामा सद्भाव समितिको अग्रसरतामा बसेको बैठकले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा तथा हिन्दु–मुस्लिम समुदायका प्रतिनिधिको सहभागितामा उक्त निर्णय गरेको हो।

वीरगञ्ज–११ श्रीपुरमा आइतबार बेलुकी भएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने, पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। दोषीलाई कानुनी कारबाही गर्न धार्मिक अगुवाले समेत सहजीकरण गर्ने सहमति भएको उनले बताए ।

बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भड्काउने सामग्री भाइरल बनाउने तथा हेट स्पीच प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुनअनुसार तत्काल कारबाही गर्ने निर्णय गरेको छ। उक्त जानकारी तबरेज अहमदले दिए।

साथै, आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो निकायबाट शान्ति र सहिष्णुताको सन्देश सहित विज्ञप्ति जारी गर्ने निर्णय समेत गरिएको छ।

यसैबीच जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहानदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाउने सहमति गरेको छ। बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, प्रहरी उपरीक्षक नरेशराज सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको सहभागिता रहेको थियो।

यसअघि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था जटिल बन्दै गएपछि प्रशासनले सोमबार बिहान ९ः४५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटभित्रको क्षेत्र कर्फ्युको दायरामा राखिएको थियो।

अत्यावश्यक सेवाबाहेक सर्वसाधारणको आवतजावत, सभा–जुलुस र अन्य गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको थियो भने एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थीलाई सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको थियो।

प्रशासनले शान्ति, सद्भाव र संयम कायम राख्न सर्वसाधारणसँग अपिल गर्दै कानुन उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

null