वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्त वीरगञ्ज–१८ भवानिपुरमा सबै पुस्ताका साझा उम्मेदवारका रूपमा उभिएका छन्।
भवानिपुरमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा जेनेजी, युवा, प्रौढ र वृद्धहरूको उल्लेख्य सहभागिताले पन्तप्रति बढ्दो जनसमर्थन स्पष्ट देखिएको हो। कार्यक्रमका क्रममा टोल–टोलमा स्थानीयवासीको उत्साहपूर्ण स्वागत, खुलेर गरिएको संवाद र सामूहिक उपस्थितिले चुनावी माहोललाई थप तातेको बनाएको सहभागीहरूले बताएका छन्।
घरदैलो कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको औपचारिक उपस्थिति रहेको थियो। स्थानीय स्तरमा प्रभाव राख्ने अगुवा तथा समाजसेवीहरूको सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको आयोजक पक्षको दाबी छ।
स्थानीय सहभागीहरूले परम्परागत दलप्रति बढ्दो निराशा र वैकल्पिक राजनीतिक शक्तिको खोजी नै आफ्नो समर्थनको मुख्य कारण भएको बताएका छन्। “हामी परिवर्तन चाहन्छौं, पारदर्शिता र जवाफदेहितासहितको नेतृत्व चाहिन्छ,” एक युवा सहभागीले भने, “त्यही आशा हामीले पन्तजीमा देखेका छौं।”
उनीहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवा पुस्तालाई निर्णय प्रक्रियामा अगाडि ल्याउने प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको उल्लेख गरे। पछिल्लो समय देशव्यापी रूपमा वैकल्पिक राजनीतिप्रति देखिएको आकर्षण भवानिपुरमा पनि स्पष्ट देखिएको स्थानीयहरूको भनाइ छ।
कार्यक्रममा पन्तले आफू जनताको विश्वासलाई मतमा मात्र सीमित नराखी विकास र सुशासनको परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। “राजनीति पदका लागि होइन, सेवा र परिवर्तनका लागि हो,” उनले भने, “भवानिपुरको विश्वास मेरो लागि जिम्मेवारी हो, जसलाई परिणाममार्फत प्रमाणित गर्नेछु।”
भवानिपुर क्षेत्र पछिल्लो समय पर्सा–१ को चुनावी समीकरणमा महत्त्वपूर्ण मानिँदै आएको छ। यस क्षेत्रमा युवा मतदाताको संख्या उल्लेख्य रहेकाले यहाँको समर्थन निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।
घरदैलो अभियानपछि भवानिपुरमा पन्तको पक्षमा सकारात्मक माहोल बनेको समर्थकहरूको दाबी छ। आगामी निर्वाचनमा उक्त क्षेत्रबाट प्राप्त हुने मत परिणामले पर्सा–१ को समग्र समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।
आर्थिकन्यूज