वीरगञ्ज । नेकपा एमाले पर्सा–१ का उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका–३१ का विभिन्न टोल–बस्तीमा घरदैलो तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्। बिहानदेखि साँझसम्म जारी रहेको यस अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएका छन्।
यादवले आफ्ना योजनाहरूमा विकास, सुशासन र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा–१ लाई आधुनिक पूर्वाधार, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र उत्पादनमुखी कृषि प्रणालीमार्फत समृद्ध बनाउने योजना रहेको बताए। विशेषगरी युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको उनले बताए।
उम्मेदवार यादवले मतदातालाई एमालेको चुनाव चिह्न ‘सूर्य’मा मतदान गरी स्थिर सरकार र विकासको निरन्तरता सुनिश्चित गर्न आग्रह गरे। उनले अधुरा रहेका सडक स्तरोन्नति, खानेपानी आयोजना, स्वास्थ्य चौकी विस्तार र विद्यालयको गुणस्तर सुधारमा प्राथमिकता दिने योजना प्रस्तुत गरे। साथै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्दै कृषकलाई आधुनिक प्रविधि, सहज ऋण र उत्पादनको बजार व्यवस्थापन उपलब्ध गराउने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले खानेपानीको अभाव, बिग्रिएका सडक, स्वास्थ्य सेवा पहुँच, बेरोजगारी र सरसफाइ व्यवस्थापन लगायतका समस्याहरू औँल्याए। केही महिलाहरूले महिला स्वास्थ्य सेवा, छात्रवृत्ति र सुरक्षित सडक बत्तीको मागसमेत उठाए। यादवले ती मागलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा समाधान गर्ने आश्वासन दिए।
आर्थिकन्यूज