शीर्षकहरू

यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा

यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आसन्न निर्वाचनलाई बालकोटको प्रतिष्ठासँग जोड्दै मतदातासँग समर्थनको अपिल गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै राणाले आफू व्यक्तिगत रूपमा मात्र नभई समग्र बालकोट क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको बताए । ‘यस पटक म उठेको होइन, बालकोट उठेको हो । त्यसैले बालकोटले यस पटक इज्जत राख्नुपर्छ,’ उनले भने ।

उनले इतिहास बोकेको र लोकतन्त्रका लागि संघर्ष गरेको बालकोटको उम्मेदवार पराजित भए त्यसको असर व्यापक रूपमा पर्ने दाबी गरे । ‘यतिबेला टिकट पाउँदा पनि इतिहास बोकेको बालकोट, लोकतन्त्रका लागि लडेको बालकोटको उम्मेदवार पराजित भयो भने बालकोटीबासी होइन, भक्तपुरबासीले नै बालकोटबासीलाई सराप्छन्,’ उनले भने, ‘त्यसैले यहाँ भोट माग्ने अधिकार मलाई छ ।’

राणाले आफू लोकतन्त्र स्थापनाका लागि जेल गएको स्मरण गर्दै विगतका संघर्षका दिनहरू पनि सुनाए । ‘म लोकतन्त्र ल्याउन जेल गएँ । पानी लिन जाँदासमेत ‘कैदी आयो’ भनेर हेला गरेको अझै याद छ,’ उनले भने ।

उनले विभिन्न राजनीतिक दलमा आबद्ध बालकोटवासीलाई समेत यस पटक आफूलाई समर्थन गर्न आग्रह गरे । ‘गर्वका साथ अरु पार्टीमा लाग्नेहरूले पनि यस पटक बालकोटबासी उम्मेदवार कविर राणालाई भोट हाल्नुपर्छ भनेर घरघरमा गएर भन्नुपर्छ,’उनले आह्वान गर्दै भने ।Q