काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्काशन गरेको हो।
कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता (प्रति सेयर १०० रुपैयाँ अंकित) साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँट भइसकेको छ।
त्यस्तै, ५ लाख ६२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख ८१ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि र सोही संख्याका २ लाख ८१ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
यी सबै बाँडफाँटपछि बाँकी ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो। निष्काशन छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन सि–आस्बा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड ले ‘IRN BB+ (Issuer)’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०८३ वैशाख २९ गतेसम्म बहाल रहनेछ।
उद्योग र वित्तीय अवस्था
२०६६ असोज ९ गते निजी कम्पनीका रूपमा दर्ता भई २०७८ असार २१ गते सार्वजनिक कम्पनीमा रूपान्तरण भएको पाल्पा सिमेन्टको उद्योग नवलपरासीको सुनवलमा रहेको छ। पाल्पा जिल्लाको माथागढी गाउँपालिकास्थित चुनढुंगा खानीबाट कच्चा पदार्थ आपूर्ति हुँदै आएको छ। कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ र २०७८/७९ देखि भारतमा समेत निर्यात गर्दै आएको जनाएको छ।
गत आर्थिक वर्षमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ भने चालु आवको अन्त्यसम्म २९ करोड ७५ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ। २०८३/८४ मा ३० करोड ५० लाख रुपैयाँ नाफा गर्ने अनुमान छ। गत वर्ष कम्पनीको कुल आम्दानी ४ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको थियो भने जगेडा कोषमा १ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ।
आईपीओबाट संकलित रकम कम्पनीले स्थायी चालु कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।
आर्थिकन्यूज