शीर्षकहरू

प्रतिनिधिसभा निर्वाचन: ९ दल र १ हजार २१३ उम्मेदवारले मात्रै खोले बैंक खाता

प्रतिनिधिसभा निर्वाचन: ९ दल र १ हजार २१३ उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १ हजार २१३ जनाले मात्रै बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा सहभागी ६८ राजनीतिक दलमध्ये ९ दलले मात्र खाता खोलेका छन्। खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले प्राप्त गर्ने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, खर्चको सीमा पालना गराउन र प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको हो।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार आयोगमा दर्ता भई समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारसम्बन्धी आम्दानी–खर्च सोही खातामार्फत सञ्चालन गर्नुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोल्दै गएका हुन्।