शीर्षकहरू

बीमितहरु तेस्रोपार्टीबाट 'कम्प्रिहेन्सिभ'मा कन्भर्ट हुँदा मोटर बीमाको व्यापार ह्वात्तै बढ्यो

बीमितहरु तेस्रोपार्टीबाट 'कम्प्रिहेन्सिभ'मा कन्भर्ट हुँदा मोटर बीमाको व्यापार ह्वात्तै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा मोटर बीमाको व्यापार वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार मोटर बीमा पोर्टफोलियोको व्यापार १९.१५ वृद्धि भएको छ ।

यस अवधिमा बीमा कम्पनीहरुले मोटर पोर्टफोलियो अन्तर्गत ९ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेका छन् । जुन गत आवको सोही अवधिमा ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँको व्यापार भएको थियो । तर, यस फोर्टफोलियो अन्तर्गत बीमाशुल्क संकलन उक्त मात्रामा वृद्धि भएपछि मोटर बीमालेख बिक्री भने नगन्य परिमाणमा वृद्धि भएको छ ।

मोटर बीमालेख बिक्री भने ३.२९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको माघ मसान्तसम्म ९ लाख ५५ हजार १०२ वटा मोटर पोलिसि बिक्री भएकोमा यस आवको सोही अवधिमा ९ लाख ४५ हजार ६८३ वटा पोलिसि बिक्री भएको छ । अर्थात् मोटर पोलिसि बिक्री भने सामान्य रुपमा मात्रै वृद्धि हुँदा पनि त्यसबाट संकलन हुने बीमाशुल्क भने उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । 

पोलिसि बिक्री भन्दा बीमा शुल्क संकलन धेरै वृद्धि हुनुको कारण

मोटरको बीमा खासगरी दुई प्रकारले गरिन्छ । एउटा तेस्रो पार्टी बीमा र अर्काे व्यापक (कम्प्रिहेन्सिभ) बीमा । तेस्रो पार्टी बीमाका लागि बीमाशुल्क र कभरेज पनि कम छ । व्यापक बीमामा बीमाशुल्क र कभरेज पनि बढी छ । व्यापक बीमा भित्रै तेस्रो पार्टी बीमा पनि पर्दछ ।

अर्थात् व्यापक बीमा गरेपछि तेस्रो पक्ष गरिरहनु पर्दैन, तेस्रो पक्षको सबै कभरेज व्यापक भित्रै समावेश हुन्छ । हाल नेपालमा तेस्रो पार्टी बीमा अनिवार्य गरिएको छ । र व्यापकलाई ऐच्छिक रुपमा छोडिएको छ ।

पछिल्लो समय ऐच्छिक रहेको व्यापक बीमा गर्नेहरुको बढ्दै जादाँ समग्रह मोटर बीमा पोर्टफोलियोको व्यापर वृद्धि भएको बीमाका जानकारहरु बताउँछन् । आर्थिक न्यूजसँग कुरा गर्दै एन निर्जीवन बीमा कम्पनीका सीईओले भने, 'तेस्रो पार्टी बीमा गर्नेहरुले अहिले व्यापक बीमा नै गर्न थालेका छन्, अर्थात् व्यापक बीमाको दायरा बढ्दै जाँदा समग्र मोटर पोलिसिको व्यापर वृद्धि हुन गएको हो ।’

मोटरको बीमा गर्दा कति लाग्छ बीमाशुल्क ? 

नेपाल बीमा प्राधिकरणले मोटर बीमाको बीमाशुल्क त निर्धारण गरिदिएको छ । प्राधिकरणले मोटर निर्देशिका नै जारी गरी विभिन्न खालका मोटरको बीमाशुल्कदर निर्धारण गरेको हो ।

मोटरको दर्ता भएको अवधि, सिसि र घोषित मूल्यको आधारमा प्राधिकरणले बीमाशुल्क निर्धारण गरेको हो । त्यस्तै, विद्युतीय सवारी साधनको हकमा भने प्राधिकरणले बीमाशुल्क निर्धारण गर्दा किलोवाटलाई पनि मानक मान्ने गरेको छ । 

प्राधिकरणले सवारी साधन, व्यक्तिगत दुर्घटना, तेस्रो पक्ष र अन्य क्षतिको सुविधाका लागि फरक फरक शुल्क निर्धारण गरेको छ । तर, तेस्रो पक्ष बीमालाई भने अनिवार्य गरेको छ । मोटर बीमा नवीकरण गर्दा अनिवार्य रुपमा तेस्रो पक्ष बीमा पनि नवीकरण गरेको हुनुपर्नेछ।

निर्देशिका अनुसार मोटरसाइकल हकमा दर्ता भएको पाँच वर्षभन्दा कम अवधिको भएमा घोषित मूल्यको १.५  प्रतिशत बीमाशुल्क लाग्नेछ । दर्ता भएको ५ देखि १० वर्षसम्मको भएमा १५ प्रतिशत र १० वर्षभन्दा माथिको भएमा २५ प्रतिशतसम्म बीमाशुल्क लाग्नेछ ।

तेस्रो पक्ष बीमाको लागि भने १५० सिसि मोटरसाइकलको हकमा एक हजार ५०० रुपैयाँ लाग्नेछ ।  १५० देखि २५० सिसिको मोटरसाइकलको लागि एक हजार ७०० र २५० भन्दा माथिको भएमा एक हजार ९०० रुपैयाँ तोकिएको छ । मोटरसाइकलको हानि नोक्सानी विरुद्धको बीमाको न्यूनतम बीमाशुल्क एक हजार रुपैयाँ हुनेछ । 

सरकारी मोटरसाइकलको हकमा भने दर्ता भएको पाँच वर्षभन्दा कम भएमा घोषित मूल्यको एक प्रतिशत, ५ देखि १० वर्षसम्मको भएमा १५ र १० वर्षभन्दा बढी भएमा २५ प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्षको बीमाको हकमा भने १५० सिसिको लागि एक हजार २५० र १५० सिसि भन्दा माथिकोृ भएमा एक हजार ५०० रुपैयाँ तोकिएको छ । अपाङ्गमैत्री तीन पांङग्रेको हकमा भने सबै शुल्कमा २५ प्रतिशत छुट हुनेछ । 

निजी सवारी साधनको हकमा दर्ता भएको १० वर्ष भन्दा कम भएका २० लाख रुपैयाँसम्मको सवारी साधनको हकमा ०.८४ प्रतिशत बीमाशुल्क तोकिएको छ । सो भन्दा माथि हकमा १.१२ प्रतिशत शुल्क लाग्नेछ । सवारी साधन दर्ता भएको १० वर्षभन्दा बढीमा १० प्रतिशत थप लाग्नेछ । तेस्रो पक्षको बीमा लागि तीन हजार रुपैयाँ तोकिएको छ । 

एक हजार देखि एक हजार ६०० सिसिको निजी हकमा दर्ता भएको १० वर्षसम्म भएका २० लाख रुपैयाँसम्मको मूल्यमा ०.८७ प्रतिशत बीमा शुल्क लाग्नेछ । सो भन्दा बढी मूल्य भएको अवस्थामा १.१२ प्रतिशत शुल्क लाग्नेछ । दर्ता भएको १० वर्षसम्म भन्दा बढीको भएको अवस्थामा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्षको दायित्वको लागि भने चार हजार रुपैयाँ थप लाग्नेछ । 

१६००  सिसिको हकमा दर्ता भएको १० वर्षसम्म भएका २० लाख रुपैयाँसम्मको मूल्यमा ०.५१ प्रतिशत शुल्क लाग्नेछ । सो भन्दा बढी मूल्य भएको अवस्थामा ०.६२ प्रतिशत शुल्क लाग्नेछ । दर्ता भएको १०  वर्षसम्म भन्दा बढीको भएको अवस्थामा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्षको दायित्वको लागि भने दुई हजार ७५० रुपैयाँ थप लाग्नेछ । 

विद्युतीय सवारी साधनको हकमा २० किलोवाटसम्म दर्ता भएको १० वर्षसम्मको भएमा २० लाख मूल्य भएमा ०.६३ प्रतिशत बीमाशुल्क लाग्नेछ । सो माथिको शुल्कको हकमा ०.८४ प्रतिशत लाग्नेछ । १० वर्ष भन्दा बढी अवधिको भएमा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्ष दायित्वको लािग तीन हजार थप गर्नुपर्नेछ । 

२० किलोवाट भन्दा माथिको विद्युतीय सवारी साधनको हकमा भएको १० वर्षसम्मको भएमा २० लाख रुपैयाँसम्मको सवारी साधनमा ०.६५ प्रतिशत बीमाशुल्क लाग्नेछ । सो माथिको शुल्कको हकमा ०.८४ प्रतिशत लाग्नेछ । १० वर्ष भन्दा बढी अवधिको भएमा थप १० प्रतिशत शुल्क लाग्नेछ । तेस्रो पक्ष दायित्वको लािग चार हजार थप गर्नुपर्नेछ । 

यात्री ओसार्ने व्यवसायिक सवारी साधनको हकमा १४ सिट क्षमता भएको र दर्ता भएको पाँच वर्षभन्दा कम भएको अवस्थामा घोषित मूल्य १.२५ प्रतिशत, ५ देखि १० वर्षसम्मको भएमा १० प्रतिशत र १० वर्षभन्दा माथिको भएमा २० प्रतिशत  थप शुल्क लाग्नेछ ।

१४ सिट क्षमता भएको सवारी साधनको हकमा तेस्रो पक्ष बीमाको लागि ६ हजार ५०० थप शुल्क लाग्नेछ । १५ देखि १८ सिटको लागि ७ हजार ५००, १९ देखि २५ सिटको लागि नौ हजार, ३५ सिट भन्दा माथिको लागि १० हजार रुपैयाँ थप शुल्क लाग्नेछ । 

तर, कार्यालय, पर्यटन र निजी प्रयोजनमा मात्र प्रयोग हुने सवारी साधनको तथा एम्बुलेन्स र शव वाहनको व्यापक बीमा गर्दा शुरु बीमा शुल्कको २५ प्रतिशत छुट हुनेछ । 

ट्याक्सीको हकमा दर्ता भएको १० वर्षसम्म मात्रै भएमा घोषित मूल्यको दुई प्रतिशत र १० वर्षभन्दा माथि भएमा १० प्रतिशत थप शुल्क लाग्नेछ । तेस्रो पक्ष बीमा वापत भने एक हजार सिसि भएको ट्याक्सीको हकमा तीन हजार ५००, एक हजार देखि १६०० सिसिको हकमा चार हजार ५०० र एक  हजार ६०० सिसिको हकमा ६ हजार ५०० लाग्नेछ ।