काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको नाम र लोगो दुरुपयोग गर्दै ‘केवाईसी विवरण अद्यावधिक’ गर्ने बहानामा डिजिटल ठगीका घटना बढेका छन्। ठगहरूले फोन, एसएमएस र सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाएर सर्वसाधारणका गोप्य बैंकिङ विवरण चोरी गरिरहेको पाइएको छ।
ठगीका क्रममा “केवाईसी अद्यावधिक नगरे खाता बन्द हुनेछ” वा “तपाईँको खाता निलम्बन हुँदैछ” जस्ता सन्देश पठाइन्छ। सोही सन्देशमा रहेको लिंकमा क्लिक गराएपछि ओटीपी, पिन नम्बर र पासवर्ड जस्ता संवेदनशील जानकारी मागिने र त्यसकै आधारमा खाताबाट रकम चोरी हुने गरेको छ।
यस विषयमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार बैंकहरूले केवाईसी अद्यावधिकका लागि एसएमएस वा सामाजिक सञ्जालमार्फत लिंक पठाउने अभ्यास गर्दैनन्।
राष्ट्र बैंकले ओटीपी, पिन वा पासवर्ड कसैलाई पनि नदिन, शङ्कास्पद लिंकमा क्लिक नगर्न र केवाईसीसम्बन्धी कामका लागि सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा शाखामा सिधै सम्पर्क गर्न सुझाव दिएको छ। कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल बैंकलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

आर्थिकन्यूज