शीर्षकहरू

सरकारले जेनजी परिषद् गठन गर्ने, बुढीगण्डकीको वित्तीय लगानी ढाँचा स्वीकृत

सरकारले जेनजी परिषद् गठन गर्ने, बुढीगण्डकीको वित्तीय लगानी ढाँचा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ भने, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने पनि तय गरिएको छ।

त्यसैगरी, सरकारले वैशाख १ देखि चैत मसान्तसम्म वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ। बैठकले चीन सरकारबाट प्राप्त हुने ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

अर्को निर्णयअनुसार, बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने, काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष बनाउने तथा बीमा ऐन २०७९ बमोजिमको कसुर सम्बन्धी मुद्दा कारबाही गर्न जिल्ला अदालतलाई अधिकार दिने व्यवस्था गरिएको छ।

मन्त्रिपरिषद्को यी निर्णयहरूले आगामी निर्वाचन, सार्वजनिक बिदा व्यवस्थापन र जलविद्युतलगायतका महत्वपूर्ण आर्थिक तथा प्रशासनिक कामकाजलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ।