पुनहरि बेल्बासे
भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रूपन्देही क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिँदै गएको छ। यसैक्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेलले आफ्नो घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। मङ्गलबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा पुगेका पौडेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै समस्या, गुनासा र सुझाव संकलन गरेका छन्।
घरदैलोका क्रममा बोल्दै उम्मेदवार पौडेलले भने, “रूपन्देही क्षेत्र नम्बर २ का नागरिकले भोगिरहेका आधारभूत समस्या समाधान गर्नु नै मेरो पहिलो दायित्व हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरीलाई सुधार्दै गुणस्तरीय सेवा सुनिश्चित गर्ने स्पष्ट योजना लिएर म जनताको माझ आएको छु।” उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र आर्थिक रूपमा कमजोर वर्गका लागि छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिने बताए।
स्वास्थ्य क्षेत्रको सन्दर्भमा उनले भने, “सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा अभाव, उपकरणको कमी र जनशक्तिको समस्या छ। यसलाई समाधान गर्न आवश्यक बजेट व्यवस्थापन र संरचनागत सुधारका लागि पहल गर्छु।” उनले सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा नागरिकको अधिकार भएको उल्लेख गर्दै स्थानीय स्तरमै प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
नदी आसपासका बस्ती वर्षायाममा डुबान र कटानको जोखिममा रहने विषयलाई उठाउँदै पौडेलले भने, “नदी किनारमा बसोबास गर्ने नागरिक वर्षा सुरु भएलगत्तै त्रासमा बस्न बाध्य छन्। अब दीर्घकालीन समाधान आवश्यक छ। आरसीसी वाल निर्माण गरी व्यवस्थित तटबन्द बनाउने मेरो प्रमुख योजना हो।” उनले संघीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित बस्ती निर्माणलाई प्राथमिकतामा राख्ने बताए।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय हरिप्रसाद अर्यालले भने, “चुन्नप्रसाद पौडेल व्यवसायी पृष्ठभूमिबाट आउनुभएको व्यक्ति हुनुहुन्छ। उहाँले निजी क्षेत्रका समस्या नजिकबाट बुझ्नुभएको छ। व्यवसायीको हकहित र रोजगारी सिर्जनाका लागि काम गर्न सक्ने सक्षम उम्मेदवार भएकाले हामीले साथ दिनुपर्छ।” उनले क्षेत्रको आर्थिक विकासका लागि उद्योग–व्यवसाय मैत्री वातावरण आवश्यक रहेको धारणा व्यक्त गरे।
स्थानीय बुद्ध बोहराले वर्षायाममा भोग्नुपरेको समस्याबारे आफ्नो अनुभव सुनाउँदै भने, “हरेक वर्ष वर्षा लागेपछि नदीको सतह बढ्छ र बस्तीमा जोखिम बढ्छ। बालबालिका र वृद्धवृद्धालाई सुरक्षित राख्न कठिन हुन्छ। यदि तटबन्द निर्माण भयो भने हामी ढुक्कसँग बस्न सक्छौँ। यही अपेक्षाका साथ हामीले चुन्नप्रसाद पौडेललाई समर्थन गरेका हौँ।”
त्यस्तै ज्ञानमती मालीले पनि आफ्नो धारणा व्यक्त गर्दै भनिन्, “उहाँ बुटवलकै स्थानीय बासिन्दा हुनुहुन्छ र उद्योग–व्यवसाय सञ्चालनको अनुभव राख्नुहुन्छ। स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने क्षमता उहाँमा देख्छु। युवाहरूलाई विदेश जानुपर्ने बाध्यता कम गर्न उद्योग र उत्पादन क्षेत्रलाई प्रोत्साहन दिनुपर्छ भन्ने उहाँको सोच हामीलाई मन परेको छ।”
घरदैलोका क्रममा मतदाताले सडक पूर्वाधार, खानेपानी, फोहोर व्यवस्थापन, युवाका लागि रोजगारी र महिला सशक्तीकरणजस्ता विषयमा पनि चासो व्यक्त गरेका थिए। पौडेलले ती सबै विषयलाई आफ्नो साझा विकास योजनामा समेट्ने प्रतिबद्धता जनाउँदै भने, “जनताको सुझाव नै मेरो मार्गदर्शन हो। म कुनै व्यक्तिको मात्र होइन, सम्पूर्ण क्षेत्रको प्रतिनिधि बन्न चाहन्छु।”
चुनावी अभियानलाई व्यवस्थित र योजनाबद्ध ढंगले अगाडि बढाइरहेका पौडेलले घरदैलोमार्फत प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। स्थानीयसँग हातेमालो गर्दै विश्वास निर्माण गर्नु नै आफ्नो अभियानको मुख्य आधार रहेको उनले बताए।
रूपन्देही–२ मा बढ्दो प्रतिस्पर्धाबीच पौडेलले शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती निर्माण र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएर मतदाताको समर्थन जुटाउने प्रयास गरिरहेका छन्। घरदैलो अभियानका क्रममा देखिएको स्थानीयको उत्साहले निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास उनको टोलीले व्यक्त गरेको छ।
आर्थिकन्यूज