काठमाडौं । नेपालमा पाककला (कुलिनरी) अनुभवलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको सहकार्यलाई थप सुदृढ बनाइएको छ। यस सहकार्यले नेपालमा फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकासमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता जनाएका छन्। ( ‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा उपस्थिति जनाउँदै आएको भए पनि, नयाँ सम्झौताले ग्राहकसँगको सम्बन्ध गहिरो बनाउने, सेफहरूको क्षमता अभिवृद्धि गर्ने तथा विश्वव्यापी पाककला ट्रेन्डहरू नेपालमा भित्र्याउने रणनीतिक भूमिका खेल्नेछ।
सन् १९४५ मा स्थापना भएको ‘रिच्स’ एक पारिवारिक खाद्य कम्पनी हो जसले विश्वभर ८० वर्षभन्दा लामो विरासत बोकेको छ। भारतमा मात्र ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको यस कम्पनीलाई नन–डेयरी ह्विप्ड टपिङ उत्पादनमा विश्वमै अग्रणी मानिन्छ।
आधुनिक बेकरी, डेजर्ट र फुडसर्भिस क्षेत्रमा यसले महत्वपूर्ण योगदान पुर्याएको छ। पद्म ज्योति ग्रुपसँगको सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित छैन। यसले सेफहरूसँग प्रत्यक्ष समन्वय, प्राविधिक तालिम, र ज्ञान आदानप्रदानमा विशेष जोड दिनेछ।
उद्देश्य भनेको नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई विश्वस्तरीय प्राविधिक ज्ञान दिलाउनु हो, जसले उनीहरूको मेनुमा नयाँपन ल्याउनेछ। ग्रुपले आफ्नो पूर्वाधार, वितरण सञ्जाल र बजार बुझाइलाई प्रयोग गर्दै आधुनिक रिटेल, बेकरी र हस्पिटालिटी क्षेत्रमा उच्च गुणस्तरका उत्पादन पुर्याउनेछ।
यसले लाइभ डेमोस्ट्रेसन, प्राविधिक मार्गदर्शन र निरन्तर सहयोगमार्फत दीर्घकालीन मूल्य सुनिश्चित गर्नेछ। पद्म ज्योति ग्रुपले सन् २००७ मा FMCG क्षेत्रमा प्रवेश गरेको थियो र त्यसयता आइसक्रिम तथा फ्रोजन डेजर्ट क्षेत्रमा बलियो उपस्थिति बनाएको छ। अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा कम्पनीले नेपाली बजारको बदलिँदो जीवनशैली र स्वादलाई सम्बोधन गर्दै उच्च गुणस्तरका उत्पादनहरू भित्र्याउँदै आएको छ।
रिच्स इन्डिया, मध्यपूर्व र टर्कीका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले भने , “पद्म ज्योति ग्रुपसँगको सहकार्य इनोभेसन, विशेषज्ञता र बलियो स्थानीय साझेदारीमार्फत पाककलाको स्तरलाई उचाइमा पु¥याउने साझा दृष्टिकोणमा आधारित छ। यसले नेपालका सेफ, बेकर र फुडसर्भिस प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव र नवीनतम खाद्य समाधान प्रदान गर्नेछ।”
आर्थिकन्यूज