शीर्षकहरू

पर्सामा काँग्रेसको अभूतपूर्व एकता : चारै क्षेत्रमा जित दोहोर्‍याउने लक्ष्यसहित मैदानमा

पर्सामा काँग्रेसको अभूतपूर्व एकता : चारै क्षेत्रमा जित दोहोर्‍याउने लक्ष्यसहित मैदानमा

वीरगञ्ज l प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा नेपाली काँग्रेस अभूतपूर्व एकतासहित चुनावी मैदानमा उत्रिएको छ। विगतका निर्वाचनमा गुट–उपगुटका कारण व्यहोरेको क्षतिबाट पाठ सिक्दै यसपटक पार्टीका शीर्षदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता एकढिक्का भएर अभियानमा जुटेको दाबी गरिएको छ।

फागुन २१ गते हुने निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारलाई विजयी गराउने लक्ष्यसहित अभियान तीव्र पारिएको नेताहरूले बताएका छन्। विशेषगरी पर्सा क्षेत्र नं.–१ का उम्मेदवार अनिल कुमार रुङ्गटाको पक्षमा पार्टीका प्रभावशाली नेताहरू खुला रूपमा मैदानमा देखिएका छन्।

रुङ्गटा यतिबेला वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीसहित विभिन्न वडामा घरदैलो तथा समुदायसँग प्रत्यक्ष संवादमा व्यस्त छन्। उनले स्थानीय विकास, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा र युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। “पारदर्शिता र जिम्मेवार नेतृत्वमार्फत पर्सालाई समृद्ध बनाउने” उनको मूल एजेन्डा रहेको बताइन्छ।

यसैक्रममा मंगलबार वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा आयोजित घरदैलो कार्यक्रममा काँग्रेसका प्रभावशाली नेता राजेन्द्रबहादुर अमात्य सक्रिय रूपमा सहभागी भए। क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अरविन्द गुप्ताका अनुसार, विपक्षी दलले फैलाएको भ्रम चिर्न र जनसमर्थन सुदृढ गर्न अमात्य स्वयं घरदैलोमा उत्रिएका हुन्।

गुप्ताले पर्सामा काँग्रेस पूर्ण रूपमा एकढिक्का रहेको दाबी गर्दै यसले कार्यकर्तामा नयाँ ऊर्जा थपेको बताए। उनका अनुसार उम्मेदवार रुङ्गटा इमानदार, जनताप्रति जिम्मेवार र समाजमा सम्मानित व्यक्तित्व भएकाले मतदाताको विश्वास जित्दै गएका छन्।

घरदैलो कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा पूर्व जिल्ला सभापति अमात्यसँगै अजय कुमार द्विवेदी, सभापति रामनारायण कुर्मी, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भोला साह कलवार, महानगर सभापति मणिन्द्रलाल नेपाली, महाधिवेशन प्रतिनिधि, विभिन्न बूथ सभापतिलगायत नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विगतमा काँग्रेस एकढिक्का हुँदा चारै क्षेत्र जितेको इतिहास स्मरण गर्दै नेताहरूले यसपटक पनि त्यही परिणाम दोहोरिने विश्वास व्यक्त गरेका छन्। पर्सामा देखिएको संगठनात्मक एकता र सक्रिय अभियानले आगामी निर्वाचनमा काँग्रेसलाई थप बलियो बनाउने दाबी गरिएको छ।