शीर्षकहरू

पर्सा–१ मा कडा प्रतिस्पर्धा : दुई व्यापारी आमनेसामने,

पर्सा–१ मा कडा प्रतिस्पर्धा : दुई व्यापारी आमनेसामने,

  • बदलपछि पूर्वमन्त्री यादवमाथि विश्वासको परीक्षा

वीरगञ्ज ।आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ यतिबेला राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। यहाँ ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमा दुई जना व्यवसायिक पृष्ठभूमिका प्रभावशाली उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

नेपाली कांग्रेसले व्यापारी अनिलकुमार रुंगटालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट पूर्वमन्त्री प्रदीप यादव चुनावी मैदानमा छन्। २०७४ सालको आम निर्वाचनमा तत्कालीन मधेश जनअधिकार फोरमबाट विजयी भएका यादवले रुंगटालाई करिब पाँच हजार मतान्तरले पराजित गरेका थिए। २०७९ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पुनः निर्वाचित भई मन्त्रीसमेत बनेका यादव यसपटक भने एमालेको चुनाव चिह्नबाट प्रतिस्पर्धामा छन्।

यादवको यही दलबदल अहिले उनको सबैभन्दा ठूलो राजनीतिक चुनौती बनेको विश्लेषण गरिएको छ। मधेश आन्दोलनका क्रममा एमाले र त्यसका नेतृत्वविरुद्ध कडा अभिव्यक्ति दिएका यादव मनोनयनको अघिल्लो दिन जसपा त्यागेर एमाले प्रवेश गरेपछि कार्यकर्ता पंक्तिमै प्रश्न उठेको छ। मधेश आन्दोलनको केन्द्र वीरगञ्जमै उनको विगतका अभिव्यक्तिहरू अहिले सामाजिक सञ्जाल र चुनावी बहसको विषय बनेका छन्।

२०७९ को निर्वाचनमा यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा कांग्रेसबाट विद्रोह गरी उम्मेदवारी दिएका अजयकुमार द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए। अहिले द्विवेदी कांग्रेसमै फर्केर रुंगटाको पक्षमा उभिएका छन्। यसले कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाएको दाबी गरिएको छ।

यता, जसपाले यसपटक रामनरेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ। विगतमा यादवले जसपा–एमाले गठबन्धनबाट जित हात पारेका थिए भने अहिले एमाले एक्लै मैदानमा छ। मधेशवादी मत विभाजन हुने आकलनका बीच कांग्रेस उम्मेदवार रुंगटाले यसलाई आफ्नो पक्षमा अवसरका रूपमा लिएका छन्।

तर कांग्रेसभित्रै पनि पूर्ण सन्तोषको अवस्था भने देखिँदैन। ‘जेनजी’ नाम दिइएको युवा असन्तुष्टि समूहले जिल्लाका चारै क्षेत्रमा दशकौँदेखि दोहोरिँदै आएका अनुहारलाई पुनः अवसर दिइएको भन्दै असन्तोष व्यक्त गरेको छ। विशेष महाधिवेशनमार्फत केन्द्रीय नेतृत्व परिवर्तन भए पनि जिल्लास्तरमा नयाँ अनुहार नआएको गुनासो युवा पंक्तिमा सुनिन्छ।

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका बुद्धिप्रसाद (हरि) पन्तले यही असन्तुष्टिलाई चुनावी मुद्दा बनाएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्षसमेत रहेका पन्तले भ्रष्टाचार, नातावाद र पुरानो राजनीतिक संस्कृतिविरुद्ध अभियान चलाइरहेका छन्।

अन्य दलबाट पनि उम्मेदवारहरू मैदानमा छन्। नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायत दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीबाट अजयकुमार चौरसिया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्दकिशोर प्रसाद श्रीवास्तव तथा जनमत पार्टीबाट ओमप्रकाश सर्राफ प्रतिस्पर्धामा छन्।

पर्सा–१ मधेश आन्दोलनको ऐतिहासिक केन्द्र हो। २०७२ सालमा संविधान जारी भएपछि वीरगञ्ज नाका छ महिनासम्म बन्द गरेर गरिएको आन्दोलनले राष्ट्रिय राजनीति नै प्रभावित भएको थियो। त्यही आन्दोलनको अग्रपंक्तिमा रहेका नेता यादव अहिले संविधानको रक्षा र कार्यान्वयनका लागि एमालेमा प्रवेश गरेको दाबी गर्दै मतदातासमक्ष पुगेका छन्।

यद्यपि, मधेशवादी पहिचानको मुद्दा अहिले विभाजित अवस्थामा देखिन्छ। विगतमा एउटै धारमा रहेका नेताहरू अलग–अलग दलबाट प्रतिस्पर्धामा उत्रँदा पहिचानवादी मत कमजोर हुने विश्लेषण गरिएको छ। मधेशवादी दलहरूले ‘मधेश’ शब्दसमेत पार्टी नामबाट हटाइसकेका सन्दर्भमा आधारभूमिमै वैचारिक संकट देखिएको टिप्पणी हुँदै आएको छ।

निर्वाचन आयोगका अनुसार पर्सा–१ मा ३० जना उम्मेदवार चुनावी दौडमा छन्। मुख्य प्रतिस्पर्धा भने कांग्रेसका रुंगटा र एमालेका यादवबीच केन्द्रित हुने संकेत देखिएको छ। व्यापारी पृष्ठभूमिका रुंगटा संगठन र गठबन्धनको बलमा अघि बढ्न खोजिरहेका छन् भने तीन पटक जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका यादव आफ्नै विगतका राजनीतिक निर्णयहरूको परीक्षामा उभिएका छन्।

यसपटक पर्सा–१ को चुनाव केवल दलबीचको प्रतिस्पर्धा मात्र होइन, मतदाताको विश्वास, पहिचानको राजनीति र दलबदलप्रतिको जनमतको परीक्षणसमेत बन्ने देखिएको छ