शीर्षकहरू

कालिन्चोक हाइड्रोको आईपीओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला

कालिन्चोक हाइड्रोको आईपीओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला

काठमाडौं। कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले ५५ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

त्यसअन्तर्गत पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। दोलखा जिल्लाको बिगु गाउँपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै सर्वसाधारणका लागि छुट्याइने सेयरमध्ये १० प्रतिशत अर्थात् ८२ लाख ५० हजार रुपैयाँ बराबरका ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीले आवेदन दिन पाउनेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीयका लागि छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गतेसम्म आवेदन खुला रहनेछ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै सम्बन्धित बैंक तथा तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणालीबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि २९ वर्ष ५ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र छुट दरमा लगानी फिर्ता अवधि १५.३६ वर्ष अनुमान गरिएको छ।