काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ। यस्तै १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षित गरिएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १ र ढिलोमा चैत ११ गतेसम्म आवेदन खुला रहनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु क्यापिटल, आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेसनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा औसत जोखिम संकेत गर्दछ।
कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ। आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २५ वर्ष ४ महिना बाँकी रहेको छ।
आर्थिकन्यूज