शीर्षकहरू

वित्तीय प्रणालीमा अधिक तरलता : राष्ट्र बैंकले ८८ दिनका लागि ४० अर्ब निक्षेप उठाउँदै

वित्तीय प्रणालीमा अधिक तरलता : राष्ट्र बैंकले ८८ दिनका लागि ४० अर्ब निक्षेप उठाउँदै

काठमाडौं। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ८८ दिन अवधिका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बोलकबोल प्रक्रियाबाट उठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुनेछ। साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते गरिनेछ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ। बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिनेछ।

राष्ट्र बैंकले आह्वान गरेको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राख्दै क्रमशः स्वीकृति दिने जनाएको छ। संकलित निक्षेप सम्बन्धित संस्थाको लगानी मानिने भएकाले उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले पछिल्लो समय प्रणालीमा थुप्रिएको तरलता नियन्त्रण गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।