काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी प्रतिनिधिसभा निर्वाचनका क्रममा हुने आर्थिक गतिविधि विस्तार र बढ्दो विप्रेषण प्रवाहका कारण समष्टिगत मागमा वृद्धि भई मुद्रास्फीतिमा केही दबाब पर्न सक्ने अनुमान गरेको छ। मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकलेआगामी महिनामा चुनावी गतिविधि र उच्च विप्रेषणका कारण मूल्यस्तरमा केही वृद्धि हुन सक्ने उल्लेख गरेको छ।
समीक्षामा नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट अनुसार आर्थिक वृद्धि दर ३.५ प्रतिशत रहने अपेक्षा गरिएको छ। मौद्रिक क्षेत्रमा न्यून ब्याजदर, उच्च तरलता र पर्याप्त विदेशी सञ्चितिले लगानी वृद्धिलाई सुदृढ पार्दै दिगो र समग्र आर्थिक विकासको मजबुत आधार तयार गरेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, हालै स्वीकृत वित्तीय क्षेत्र विकास रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएपछि वित्तीय क्षेत्र अझ सुदृढ, सबल, समावेशी र उत्थानशील बन्ने मार्गप्रशस्त भएको राष्ट्र बैंकको विश्लेषणमा उल्लेख छ।
यस्तो छ मुलुकको आन्तरिक आर्थिक तथा वित्तीय स्थिति
मुद्रास्फीति घट्दो, तर थोक मूल्य र ज्यालामा वृद्धि
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २०८१ पुसमा ५.४१ प्रतिशत रहेकोमा २०८२ पुसमा घटेर २.४२ प्रतिशतमा झरेको छ। उपभोक्ता मूल्य सूचकांकमा ३५.५ प्रतिशत भार रहेको खाद्य तथा पेय पदार्थ समूहको मूल्य ०.०९ प्रतिशतले घटेकाले समग्र मुद्रास्फीति न्यून रहन पुगेको हो। खाद्यान्न, दाल तथा गेडागुडी, तरकारी र मरमसला लगायतका वस्तुको मूल्य उल्लेख्य घटेको छ। गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.८१ प्रतिशत रहेको छ।
तर, समीक्षा अवधिमा थोक मूल्य सूचकांक ४.०१ प्रतिशतबाट बढेर ५.१७ प्रतिशत पुगेको छ भने तलब तथा ज्याला सूचकांक २.८५ प्रतिशतबाट बढेर ६.०३ प्रतिशत पुगेको छ। यसले आगामी दिनमा लागत चापमार्फत मुद्रास्फीतिमा असर पर्न सक्ने संकेत गरेको छ।
निर्यातमा उच्च वृद्धि, व्यापार घाटा अझै उच्च
चालु आवको ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। आयात १४.२ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। परिणामस्वरूप व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
विप्रेषण र बाह्य क्षेत्र सुदृढ
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ४.२ प्रतिशत मात्र थियो। उच्च विप्रेषणका कारण चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हो।
बजेट कार्यान्वयन र सार्वजनिक ऋण
दोस्रो त्रैमाससम्म संघीय सरकारको कुल खर्च ३.४ प्रतिशतले र राजस्व परिचालन ३.२ प्रतिशतले बढेको छ। कुल ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ खर्चमध्ये चालु खर्च ४ खर्ब ८७ अर्ब १४ करोड, पूँजीगत खर्च ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्था खर्च १५३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।
राजस्व परिचालन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा २ खर्ब १२ अर्ब २४ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरिएको छ, जसमा १७७ अर्ब ८७ करोड आन्तरिक र ३४ अर्ब ३७ करोड बाह्य ऋण रहेको छ।
तरलता प्रशोचन उच्च
विस्तृत मुद्राप्रदाय १०.२ प्रतिशतबाट बढेर १४.२ प्रतिशत पुगेको छ। विप्रेषण वृद्धिका कारण खुद वैदेशिक सम्पत्ति बढ्दा मुद्राप्रदाय विस्तार भएको हो।
दोस्रो त्रैमाससम्म विभिन्न मौद्रिक उपकरणमार्फत कुल २८७ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ। अमेरिकी डलर खरिदमार्फत ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबर तरलता खुद प्रवाह भएको छ।
बैंकिङ क्षेत्रमा कर्जा र निक्षेप वृद्धि
समीक्षा अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह ३.६ प्रतिशतले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। निक्षेप परिचालन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
तर, निष्क्रिय कर्जा अनुपात बढेको देखिएको छ। २०८२ असारमा औसत ४.६२ प्रतिशत रहेको निष्क्रिय कर्जा २०८२ पुसमा ५.४२ प्रतिशत पुगेको छ। वाणिज्य बैंकको औसत ५.२६ प्रतिशत, विकास बैंकको ५.७५ प्रतिशत र वित्त कम्पनीको ११.८५ प्रतिशत रहेको छ।
समग्रमा, बाह्य क्षेत्र सुदृढ देखिए पनि आन्तरिक माग विस्तार, बढ्दो ज्याला र थोक मूल्य वृद्धिका कारण आगामी महिनाहरूमा मुद्रास्फीतिमा मध्यम चाप पर्न सक्ने संकेत मौद्रिक समीक्षाले गरेको छ।
आर्थिकन्यूज