शीर्षकहरू

पर्सा–२ : चौरसियाको बिरासत, सरावगीको ‘गेमचेन्जर’ रणनीति र घण्टीको लहरबीच निर्णायक जंगमा

पर्सा–२ : चौरसियाको  बिरासत, सरावगीको ‘गेमचेन्जर’ रणनीति र घण्टीको लहरबीच निर्णायक जंगमा

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहौल यतिवेला पेचिलो बन्दै गएको छ । पर्साकै सबैभन्दा चासोको केन्द्र बनेको यो क्षेत्र चुनावी रणनिति र प्रसार प्रचार चुलिदै गएको देखिन्छ । पूर्व कानूनमन्त्री अजय कुमार चौरसियाको प्रभाव क्षेत्र मानिने यो भूगोलमा यसपटकको प्रतिस्पर्धा त्रिपक्षीय मोडमा प्रवेश गरेको छ । चौरसिया पुरानो विरासत जोगाउने प्रयासमा लागेका छन । यता एमालेका तर्फबाट यो क्षेत्रलाई राजनिति प्रतिष्ठाकै रुपमा लिएर चुनावी मैदानमा पुर्व मेयर बिजय सरावगीको ओर्लेका छन।

सरावगीको आक्रामक चुनावी रणनितिलाई ठुलो ‘गेमचेन्जर’ को रुपमा लिन थालिएको छ । अर्को तर्फघण्टी चुनाव चिह्न बोकेको नयाँ शक्ति रास्वपाको उभार बिच त्रिकोणत्मक तिब्र प्रतिपर्धा रहेको बताइन्छ ।यी तीन धारले पर्सा दुइको चुनावी बाताबरणलाई उम्मेदवारहरुको लागी असाधारण बनाइदिएको छ।

यो चुनावमा बर्तमान मेयर राजेशमान सिंहको साथ सहयोग एमाले वा पुरानो सहयोगी रास्वपाका उम्मेदवार कानु कसलाई हुने हो ?जसता बिषयहरुले पनि चुनावी परिणामलाई पेचिलो बनाएका चर्चा चुलिदै गएको हो ।चुनावी बताबरण तातिदै जाँदा पनि यस क्षेत्रका लगभग १० प्रतिशत जनमत अहिले पनि  बेट एन्ड बाचको अवस्थामा रहेको चर्चा छ । जुन मत चुनावी परिणामलाई निर्णयक बनाउने बताइन्छ।

२०६४ देखि २०७९ सम्मको इतिहास हेर्दा पर्सा–२ कांग्रेस र जसपाको बलियो आधार किल्ला रहँदै आएको छ। कांग्रेसबाट अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यले फरक–फरक समयमा विरासत जोगाए छन् भने जसपा नेपालबाट करिमा बेगम र बिमल श्रीवास्तवले आफ्नो प्रभाव कायम राख्दै चुनाव जितेर मन्त्री समेत बनेका थिए।

२०७४ को निर्वाचनमा पाँचदलीय गठबन्धनको बलमा चौरसियाले २८,४५१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जसपाका सुरेन्द्र कुर्मी २२,४४५ मतसहित दोस्रो भए ।जुन करिब ६ हजारको मतान्तरले रहेको थियो।

यसपटक पनि चौरसिया चौथो जितका लागि मैदानमा छन् । तर घरदैलोका क्रममा पुराना समर्थकहरुको कडा विरोधले पनि चुनावी गतिविधि केही सुस्त भएको चर्चा स्थानीय वृत्तमा छ । तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका उनी नयाँ अनुहार होइनन; त्यसैले मतदाताको अपेक्षा उनले पुरा नभएको कुराप्रति व्यपक बिरोध देखिन्छ ।उनका समर्थकहरु मतदाताको  अपेक्षा उच्च रहेको बताउछन । तीन स्थानीय तहमा कांग्रेस दोस्रो स्थानमा रहनुले पनि चुनौती थपिएको विश्लेषण छ । चौरसिया क्षेत्र नम्बर २बाट चुनाव जिते पनि मन्त्रीको बेला चौरसियाकरण गरेको,निर्वाचिन क्षेत्रलाई उपेक्षा गर्दै अरु क्षेत्रको व्यक्तिहरुलाई लाभका पदहरुमा न्युक्ती गराएको बिरोधीहरुको आरोप छ।

 एमालेको ‘गेमचेन्जर’ चाल : सरावगीको प्रतिष्ठा दाउमा

नेकपा (एमाले) ले यसपटक नयाँ अनुहार रीमा यादवलाई अघि सारेको छ । निर्णयका पछाडि पूर्व नगरप्रमुख तथा एमाले केन्द्रीय सदस्य विजय कुमार सरावगीको निर्णायक भूमिका देखिन्छ । सरावगीले आफ्नो प्रतिष्ठा नै दाउमा राखेर उम्मेदवारी सुनिश्चित गराएको राजनीतिक वृत्तमा चर्चा छ । उनी यादवलाई जेनजि उमेदवारको रुपमा अघी सारेका छन।

स्थानीय तह निर्वाचन २०७९ को अंकगणित हेर्दा वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र पर्सागढी नगरपालिका—तीनै स्थानमा एमाले नेतृत्वमा रहनुले संगठनात्मक पकड बलियो रहेको संकेत दिन्छ। यही आधारमा एमालेले आफ्नो क्याडर मत सुरक्षित राख्दै ध्रुवीकरण गराउन सके परिणाम उल्टिन सक्ने आकलन छ।

यद्यपि ‘जेन्जी’ पुस्ताकी नयाँ महिला अनुहारलाई अघि सार्नुको रणनीतिक कारणबारे सर्वत्र चासो छ—यसले युवा र महिला मतदातालाई तान्ने एमालेको प्रयासका रूपमा हेरिएको छ । यो चुनावमा जातिय समिकरणले पनि ठुलो असर पार्ने बताइन्छ ।रिमाको पक्षमा यसक्षेत्रका अधिकांस यादवहरु गोलबन्दै हुदै गएको चर्चा चुलिदै गएकोले चुनावलाई झन रोचक बनाएको छ ।

 घण्टीको चुनौती : युवाको लहर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुशील साह कानु उम्मेदवार छन्। पूर्व वडाअध्यक्षसमेत रहेका कानु स्वच्छ छवि र युवा लोकप्रियताका कारण चर्चामा छन्।कानुको पक्षका बैश्य समाजको व्यापक समर्थन रहेको बताइन्छ । २०७९ मा सीमित मत पाएको रास्वपा यसपटक असन्तुष्ट र पहिलो पटक मतदान गर्ने मतदातालाई लक्षित गर्दै आक्रामक रूपमा मैदानमा उत्रिएको छ ।कांग्रेसका असतुष्ट पक्षको सहयोग र प्रदिप यादव तथा राजेशमान सिहसंगको पुराना सम्बन्धले चुनाव अगाडिको दुइ रातमा ठुलो उठापटक हुने आशंका पनि व्यक्त गर्न थालिएको छ।

यसक्षेत्रमा रहेका कानु तथा तेलीलगायत बैश्य  समाजलाई गोलबन्द गर्दै र युवाहरूको जमात परिचालन गरेर ‘घण्टी’ बजाउँदै घरदैलो गरिरहेका छन् ।यता नेपाली कांग्रेसका मातृसंगठन नेबिसंघबाट आफ्नो पहिचान बनाएका सुधिर पटेल सुशीलको पक्षमा खुलेर लागेकाले पेचिलो बन्दै गएको हो । नयाँ मतदाताको उल्लेखनीय वृद्धि र देशव्यापी रूपमा रास्वपाप्रति देखिएको आकर्षणले पर्सा–२ को समीकरणमा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ । यद्यपि संगठनात्मक हिसाबले एमाले र कांग्रेसभन्दा कमजोर भए पनि उत्साही युवा समर्थनले उनलाई ‘किङमेकर’ वा सरप्राइज परिणामको दावेदार बनाउन सक्छ ।

 जसपा र अन्य शक्ति : असन्तुष्टिको संकेत

जसपा नेपालबाट अशोक कुमार टेमानी उम्मेदवार छन् । व्यापारीवर्गमा एमालेका समर्थकका रुपमा चिनिने गणेशलाठ टेमानीको पक्षमा खुलेल लागेका छन। 

उम्मेदवारको चालचरित्र, आयश्रोत र जान जाने हरेक मतदाताको अधिकार रहेको बताउदै जसपाको अशोक टेमानीको पक्षमा मत मांगेको चर्चा चुलिएको छ । सीमाक्षेत्रका उद्योगी–व्यापारीबीच ‘खोक्रा आश्वासन’को आरोप र परिणाममुखी कामको अभावबारे असन्तुष्टि व्यक्त भएको चर्चा छ । विगतमा बलियो आधार बनाएको जसपाका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) निकट मनोज चौधरी पहिलोपटक चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी वामपन्थी पृष्ठभूमि र जातीय आधारको समर्थनका कारण केही प्रभाव पार्न सक्ने आकलन भए पनि प्रतिस्पर्धा मुख्यतः तीन दलबीच केन्द्रित देखिन्छ।

यसपटक पर्सा–२ केवल दुई दलको परम्परागत भिडन्तमा सीमित छैन । कांग्रेसको विरासत, एमालेको संगठनात्मक शक्ति र रास्वपाको नयाँ लहरबीचको टकरावले यो निर्वाचनलाई अर्थपूर्ण बनाएको छ।

शक्तिहरूको ध्रुवीकरण, युवा मतदाताको झुकाव र स्थानीय तहको अंकगणित, यी तीन तत्वले अन्तिम परिणाम निर्धारण गर्ने देखिन्छ।

परिणाम जे आए पनि पर्सा–२ बाट आउने मतादेशले मधेस प्रदेश मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत स्पष्ट सन्देश दिने निश्चित छ। यहाँको निर्णयले पुरानो राजनीतिक समीकरणलाई निरन्तरता दिने कि नयाँ अध्याय सुरु गर्ने भन्ने प्रश्नको उत्तर दिनेछ।