रुपन्देही। टाइगर फरेस्ट होटल प्रालिले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित होटल व्यवसाय विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीस्थित टाइगर प्यालेस बाइ सोल्टी नजिकै शान्त र हरियाली वातावरणमा विकसित ‘टाइगर फरेस्ट होटल’ले प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको छ।
होटल परिसरमा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण बनेको छ। यहाँ बारासिङ्गे बियरका सबै भेराइटी ड्राफ्ट प्रणालीमार्फत उपलब्ध छन्। खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको स्वाद लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरिएको छ।
काठबाट निर्मित रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकार सुपथ मूल्यमा पाइन्छन्। लाइभ म्युजिकसहित परिवार वा साथीहरूसँग समय बिताउन मिल्ने वातावरणले आगन्तुकलाई आत्मीय अनुभूति दिलाउने व्यवस्थापनको दाबी छ।

हाल होटलमा काठबाट बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका संरचनाले वातावरणमैत्री सन्देश दिनुका साथै बसाइलाई विशिष्ट अनुभव बनाउने बताइएको छ। साथै डान्स क्लब, स्पा सेवा र १५०० जनासम्म क्षमताको बैंकेट हल सञ्चालनमा आइसकेको छ, जहाँ निजी तथा संस्थागत कार्यक्रम आयोजना गर्न सकिन्छ।
करिब ५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको परियोजनामा हालसम्म झन्डै १५० करोड रुपैयाँ लगानी भइसकेको छ। सञ्चालक मिनराज भुसालका अनुसार थप १५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट बनाउने योजना छ। आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्र र थप ८० वटा काठका भिल्ला निर्माण गरिनेछ।
स्वदेशी सल्लो र साल काठ प्रयोग गर्दा नक्सा स्वीकृतिमा स्पष्ट कार्यविधि नहुँदा चुनौती रहेको सञ्चालकले बताएका छन्। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन कानुनी स्पष्टता आवश्यक रहेको उनको भनाइ छ।
हाल करिब ७० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। पूर्ण सञ्चालनपछि थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो परियोजना प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज