शीर्षकहरू

पूर्वी नाकाबाट एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

पूर्वी नाकाबाट एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर।  चालु आर्थिक वर्ष २०८२-८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१-८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा पाँच अर्व ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी तीन अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै उक्त सात महिनाको अवधिमा एक अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, ४३ करोड ५८ लाख मूल्य पर्ने चार हजार ७३६ किलोलिटर एटीएफ र ११ करोड ३० लाख मूल्य पर्ने एक हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।