काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब १३ अर्ब ७१ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ ठूला जीवन बीमा कम्पनी र ३ लघु जीवन कम्पनीले उक्त मात्रामा व्यापार गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै व्यापार नेपाल लाइफ इन्स्योरेन्स कम्पनले गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। नेपाल लाइफले चालु आवको साउनदेखि माघ मसान्तसम्म २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बढीको व्यापार गरेको छ । जसले ६ अर्ब ७५ करोड रुपैयाँ प्रथम बीमाशुल्कबाट संकलन गरेको छ भने २२ अर्ब ८३ करोड रुपैयाँ नवीकरण शुल्कबाट उठाएको छ ।
यसैगरी, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँको व्यापार गरेको छ । जसले ३ अर्ब ६३ करोड प्रथम बीमाशुल्कबाट र ९ अर्ब ६७ करोड रुपैयाँ नवीकरणबाट संकलन गरेको छ । यसैगरी, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)ले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ संकलन गरेकोछ । यस कम्पनीले १० अर्ब १० करोड रुपैयाँ नवीकरणबाट र १ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क मार्फत संकलन गरेको छ ।
त्यसैगरी, हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ संकलन गर्दा राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड ११ लाख, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख, एशियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख, सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख र सानीमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
सक्रिय बीमालेखमा रिलायबल अगाडि
यस अवधिमा १४ ठूला जीवन बीमा कम्पनीहरुमा १ करोड १५ लाख १३ हजार ३७७ जना सक्रिय बीमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका २४ लाख ३२ हजार ७१२ बीमित सक्रिय रहेका छन् । यस्तै, नेपाल लाइफमा १७ लाख ९७ हजार ३६४ जना, नेशनल लाइफमा १३ लाख ३२ हजार १०० जना, सिटिजन लाइफमा ७ लाख ५२ हजार ३७२ जना र मेटलाइफमा ७ लाख ९ हजार ५२३ जना सक्रिय बीमित रहेका छन् ।
एलआईसी नेपालमा ६ लाख ९३ हजार २६४ जना सक्रिय बीमित रहँदा सुर्यज्योतिमा ६ लाख ३३ हजार १५० जना, राष्ट्रिय जीवन बीमा कम्पनीमा ५ लाख ८५ हजार ८०९ जना र आइएमई लाइफमा ५ लाख ८० हजार ८०२ जना सक्रिय बीमित छन् ।
लघुमा क्रेष्ट अगाडि
यस अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ६३ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये क्रेष्ट माइक्रो लाइफले २२ करोड ८१ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणले जनाएको छ ।
यस्तै, गार्डियन माइक्रो लाइफले २२ करोड ७३ लाख र लिवर्टी माइक्रो लाइफले १८ करोड २० लाख रुपैयाँको व्यापार गरेका छन् ।
गार्डियमा १४ लाख ३२ हजार जना सक्रिय बीमित छन् भने क्रेष्टमा ५ लाख ५९ हजार र लिवर्टीमा ३ लाख ६३ हजार बीमित सक्रिय छन् ।

आर्थिकन्यूज