भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ मा चुनावी अभियान तीव्र बनेको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद पौडेल लाई विजयी गराउन जेष्ठ नागरिकहरू स्वयं अग्रसर भई घरदैलो कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
बुटवल उपमहानगरपालिका–८ सुक्खानगर क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा देखिएको जेष्ठ नागरिकहरूको उत्साहले चुनावी माहोल थप तातेको छ। ८४ वर्षीय जयगोपाल गौतम प्रचारप्रसारका क्रममा निकै सक्रिय देखिए। उद्योग क्षेत्रको अनुभव र राष्ट्रको आर्थिक अवस्थाबारे स्पष्ट धारणा राख्दै उनले भने, “नेपाल औद्योगिक रूपमा सबल नभएसम्म समृद्धि सम्भव छैन। उद्योग बुझेको, व्यवसायको मर्म थाहा पाएको र निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने प्रतिनिधि संसदमा पुग्न जरुरी छ। त्यसैले मैले चुन्नप्रसाद पौडेललाई रोजेको हुँ।” उनले थपे, “देशलाई अब नाराले होइन, काम गर्ने मान्छेले अगाडि बढाउनुपर्छ। उद्योगमै काम गरेर अनुभव लिएको व्यक्तिले मात्रै रोजगारी र उत्पादन वृद्धि गर्न सक्छ।”
यस्तै ८२ वर्षीय पदमप्रसाद भण्डारी पनि घरदैलो अभियानमा सक्रिय देखिए। उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला सँग काम गरेको अनुभव सुनाउँदै वर्तमान राजनीतिक सन्दर्भमा कांग्रेसको आवश्यकता औंल्याए। “मैले बीपी कोइरालासँगै काम गरेको छु। उहाँले देखाउनुभएको लोकतान्त्रिक बाटो आज पनि उत्तिकै सान्दर्भिक छ,” उनले भने, “देश जटिल मोडमा छ। यस्तो बेला मुलुकलाई निकास दिन सक्ने शक्ति भनेको कांग्रेस नै हो। त्यसैले म घरघरमा गएर कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरिरहेको छु।”
उनले थपे, “हामी जेष्ठ नागरिकहरूले देखेको संघर्ष र इतिहासलाई नयाँ पुस्तासम्म पु¥याउन पनि कांग्रेसको विजय आवश्यक छ। लोकतन्त्र जोगाउन र संस्थागत गर्न कांग्रेसको भूमिका महत्वपूर्ण छ।”
स्थानीय श्यामराज भण्डारीले उम्मेदवारको व्यक्तिगत छवि र कार्यशैलीलाई प्राथमिकता दिएको बताए। “चुन्नप्रसाद पौडेल इमान्दार र स्वच्छ छविका व्यक्ति हुनुहुन्छ,” उनले भने, “उहाँ उद्योगी–व्यवसायीको मर्का बुझ्नुहुन्छ। अहिले निजी क्षेत्र अनेक समस्याबाट गुज्रिरहेको छ। त्यस्ता समस्याको समाधान गर्न सक्ने प्रतिनिधि चाहिएको छ।”
उनले थपे, “हामीलाई भाषणभन्दा परिणाम चाहिएको छ। पौडेलज्यूले व्यवहारमा देखाउनुभएको पारदर्शिता र कामप्रतिको प्रतिबद्धताले उहाँलाई समर्थन गर्न प्रेरित गरेको हो।”
घरदैलो कार्यक्रममा सहभागी लक्ष्मणप्रसाद गैरेले सुशासन र पारदर्शिताको मुद्दालाई अघि सारे। “देशमा स्वच्छ छवि भएका नेताहरूको खाँचो छ,” उनले भने, “सुशासन कायम गर्न, भ्रष्टाचार न्यूनीकरण गर्न र जनताको विश्वास जित्न सक्ने उम्मेदवारका रूपमा हामीले पौडेललाई अघि सारेका छौं।”
उनले थपे, “हामी जेष्ठ नागरिकहरू अनुभवका आधारमा निर्णय गर्छौं। धेरै राजनीतिक उतारचढाव देखेका छौं। अब स्थिरता र विकास चाहिएको छ। त्यसका लागि कांग्रेसको नेतृत्व आवश्यक छ।”
घरदैलो कार्यक्रममा जेष्ठ नागरिक मात्र होइन, महिला, उद्योगी–व्यवसायी, युवा तथा विभिन्न समुदायका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको देखिएको छ। स्थानीय स्तरमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार पौडेलले विकास, रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन र सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै आएका छन्।
चुनावी अभियानका क्रममा जेष्ठ नागरिकहरूको सक्रिय उपस्थिति विशेष आकर्षण बनेको छ। लामो राजनीतिक अनुभव बोकेका यी अग्रजहरूले लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्धता जनाउँदै कांग्रेसको पक्षमा मत मागिरहेका छन्।
रूपन्देही क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दो क्रममा छ। फागुन २१ नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा चर्किंदै गएको छ। तर सुक्खानगर क्षेत्रमा देखिएको जेष्ठ नागरिकहरूको सक्रियता भने कांग्रेसको अभियानलाई थप ऊर्जा दिने संकेतका रूपमा हेरिएको छ।

आर्थिकन्यूज